वीरगन्ज । कोबिड १९ को आशंकामा गत बुधबार पिसिआर परीक्षण गरिएका वीरगन्जका सबै १०४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानका अनुसार गत बुधबार नारायणी अस्पतालमा पुगेर थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
संगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका अरु सबै पत्रकारलाई आफूमा पनि संक्रमण सरेको छ कि भन्ने आशंका थियो । त्यहि कारण वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि आ-आफ्नो स्वाबको नमुना दिएका थिए ।
बुधबार अस्पतालमा पुगेका १०४ जना पत्रकारको स्वाबको नमूना संकलन गरेर अस्पतालले त्यही दिन पिसिआर परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । टेकुको प्रयोगशालाबाट शनिबार बिहान प्राप्त रिपोर्टमा १०४ जना पत्रकारको रिपोर्ट नेगेटिभ आएको जानकारी अस्पतालले दिएको अध्यक्ष चौहानले बताए ।
मङगलबार २ पत्रकार पनि संक्रमण भेटिएपछि वीरगन्जका सबै पत्रकार मानसिक तनावमा थिए । केहि एफएमका सन्चारकर्मी घर नगइ ४ दिनदेखि कार्यालयमै बसेका थिए । तर शनिबार सबैको रिपोर्ट नेगेटिभ आएपछि वीरगन्जका पत्रकारहरुले तनावमुक्त भइ खुशी महसुस गरिरहेको अध्यक्ष चौहानले जानकारी दिए ।
‘२ जना पत्रकारलाई संक्रमण देखिएपछि गाउँटोलमा पत्रकारलाई समाजका केही व्याक्तिले हेर्ने दृष्टिकोण नै फरक पाइएको थियो’ , चौहानले भने, ‘तर अब रिपोर्ट नेगेटिभ आएपछि समाजको दृष्टिकोण पक्कै पनि फेरिन्छ होला भन्ने अपेक्षा छ ।’
वीरगन्जमा अझै पनि केहि पत्रकारले पिसिआर परीक्षण नगराएको जानकारीमा आएको भन्दै चौहानले परीक्षण नगराएका पत्रकारहरुलाई पनि अस्पताल पुगेर परीक्षण गराउन आग्रह गरे ।