वीरगंज, १६ जेठ ।
पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल (पि.एल.) श्रेष्ठले सर्वोच अदालतको आदेशलाई अटेरी गरी सेवा केन्द्र सारेका छन । ठोरी गाउँपालिकाको वडा नं. ५, सुवर्णपुरमा रहेको सेवा केन्द्र २०७५ माघ १४ गतेको मन्त्री परिषदको निर्णयले ठोरी ४ ध्याङ्गडाडामा सार्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरुद्धमा सर्वोच अदालत काठमाण्डौमा परेको रिट निवेदन अनुसार मिति २०७५ चैत १९ गते सेवा केन्द्र यथास्थितीमा राख्न अन्तरीम आदेश जारी गरेको थियो । सोही आदेशको अटेरी गर्दै अध्यक्ष श्रेष्ठले सुर्वणपुरबाट ध्याङ्गडाडामा सेवा केन्द्र सारेको संघर्ष समितिका अध्यक्ष जरी लामाले वताए ।
संघर्ष समितिले बिहिबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष श्रेष्ठले सर्वोचको आदेशलाई ठाडै अवहेलना गरेको जनाएको हो । पत्रकार सम्मेलनमा सर्वोचको आदेश देखाउदै संघर्ष समितिका लामाले गाउँपालिका अध्यक्ष श्रेष्ठले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाए । सर्वोचले तत्कालको लागि सुवर्णपुर मै गाउँपालिकाको सेवा केन्द्र राखन आदेश गरे सो आदेश नमानेको वताए ।
पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष लामाले गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रक्रिया पुरा नगरी सेवा केन्द्र सारेको आरोप समेत लगाए । विधी मिचेर कानुनी प्रक्रिया पुरा नगरी नक्कली माइनेट गरी सेवा केन्द्र सारेको उनको आरोप थियो ।
नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा भएको पत्रकार सम्मेलनमा ठोरी ५ का वडाध्यक्ष रामबहादुर पाख्रिन, वडा सदस्य देव बहादुर बस्नेत, बिरबहादुर लोकचन, संघर्ष समितिका सुन लामा, विमल प्रधान लगायतकाको सहभागिता रहेको थियो ।
अध्यक्ष श्रेष्ठले सर्वोचको आदेश अवहेलना गरेको सम्बन्धमा संघर्ष समितिले पर्साको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र समेत बुझाइएको छ ।


