काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका बेला सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदीलाई पक्राउ गरेका हुन् ।
नेपाल प्रेसका अनुसार प्रहरीको भ्यानमा आएका तीन जना व्यक्ति कार्यालयको गेटमा रहेका सुरक्षा गार्डलाई साथी भेट्न आएको बताउँदै भित्र प्रवेश गरेका थिए । त्यसपछि समाचार कक्षमा पुगेर उनीहरूले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै आफूसँग जान आग्रह गरेका थिए ।
समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले सुवेदीलाई पक्राउ गर्दा कुनै पक्राउ पुर्जी देखाएका थिएनन् । उनीहरूले आफूहरू अपराध अनुसन्धानबाट आएको र ‘आईजी साब’को आदेश रहेको मात्रै बताएका थिए ।
सुवेदीले छलफलका लागि जानुपर्ने भए आफू आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति नदिएको जनाइएको छ । त्यसपछि उनलाई प्रहरीको गाडीमा राखेर लगिएको थियो ।
त्यसपछि पत्रकारहरुले सुवेदीसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन उठेन । प्रहरीले पनि उनको पक्राउबारे आधिकारिक रूपमा केही जानकारी दिएको छैन ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएअनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले सुवेदीलाई नियन्त्रणमा लिएको हो । प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाब रहेको विषयमा प्रकाशित समाचारको स्रोत पत्ता लगाउन उनलाई पक्राउ गरिएको बुझिएकाे छ ।
सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने तयारी गरेको बताइएको छ । यद्यपि, उनको पक्राउको कारण र कानुनी प्रक्रियाबारे प्रहरीले औपचारिक पुष्टि गरेको छैन ।
यसैबीच, प्रहरीले अन्य सञ्चारमाध्यमका कार्यालयमा पनि पुगेर पत्रकारको खोजी गरेको छ । पत्रकार महासंघका अनुसार सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीलाई खोजेका थिए । नयाँ पत्रिकाका अनुसार प्रहरीले पक्राउ पुर्जीबिना नै मैनालीलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रहरी नयाँ पत्रिकाको कार्यालयमै रहेको जनाइएको छ ।
त्यस्तै, दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको थियो । दियो पोस्टका सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै पुगेका प्रहरी उनलाई नभेटेपछि फर्किएको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् ।
सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ पुर्जीबिना पक्राउ गर्न खोजिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ । घटनाबारे प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ ।








