Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजका सरसफाइ कर्मचारीको आन्दोलन फिर्ता, वार्तापछि साँझदेखि काममा फर्किए

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका सरसफाइ कर्मचारी र सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीबीचको विवाद आइतबार वार्तामार्फत समाधान भएको छ । दुवै पक्षबीच सहमति भएपछि आन्दोलनरत कर्मचारीहरू काममा फर्किएका छन् ।

तलब वृद्धि लगायत विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आइतबार बिहान घण्टाघर चोकसहित शहरका विभिन्न स्थानमा सडकमै फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले महानगरपालिकाको कार्यालय अगाडि पनि फोहोर थुपारेर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

आन्दोलनका कारण महानगरको सरसफाइ व्यवस्थापन प्रभावित भएपछि कार्यवाहक मेयर इम्तियाज आलमले समस्या तत्काल समाधान गर्न सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

आलमको पहलपछि आइतबार अपराह्न सरसफाइ कर्मचारी र ठेकेदार कम्पनीबीच भएको छलफलमा कर्मचारीका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि आन्दोलन फिर्ता लिइएको हो ।

कार्यवाहक मेयर आलमका अनुसार ठेकेदार कम्पनीका प्रतिनिधि शिव गुप्ताले कर्मचारीका उचित मागहरू क्रमशः सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलनरत कर्मचारीहरू सहमत भएका हुन् । सहमतिपछि उनीहरू आइतबार साँझदेखि नै सरसफाइ कार्यमा फर्किएको उनले जानकारी दिए ।

सरसफाइ कर्मचारीहरूले दैनिक ज्याला कम्तीमा एक हजार रुपैयाँ र मासिक पारिश्रमिक ३० हजार रुपैयाँ कायम गर्नुपर्ने, प्रत्येक महिनाको १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गर्नुपर्ने तथा श्रम ऐनअनुसार सातामा एक दिन साप्ताहिक बिदा सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका थिए ।

त्यसैगरी, पर्वका अवसरमा विशेष बिदाको व्यवस्था, कर्मचारीको परिवारमा मृत्यु वा विवाहजस्ता विशेष अवस्थामा १० हजार रुपैयाँ पेस्की उपलब्ध गराउने, सबै सरसफाइ कर्मचारीलाई पोसाक (ड्रेस) तथा आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...