वीरगंज । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे बीच हुने आकलन गरिएको छ।

राजनीतिक विश्लेषक तथा स्थानीय कार्यकर्ताहरूका अनुसार यसपटक पर्सा–३ मा कडा प्रतिस्पर्धाको संकेत देखिएको छ। गत २४ गते गादीमा आयोजित एमालेको सभामा देखिएको जनसहभागिताले विपक्षी दलहरूलाई दबाबमा पारेको चर्चा भइरहेको छ। पार्टीभित्र एकता कायम रहन सके एमाले उम्मेदवार पाण्डेको सम्भावना बलियो रहने एमाले निकट स्रोतको दाबी छ।
हालै एमाले पृष्ठभूमिका अनुभवी नेता प्रहलाद गिरी पार्टी प्रवेश गरेपछि संगठन थप सुदृढ भएको बताइएको छ। पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रमोद जयसवाल को नेतृत्वमा गठित मुख्य चुनाव परिचालन समितिले आन्तरिक एकता कायम राख्न सके परिणाम अनुकूल हुने एमाले कार्यकर्ताहरूको विश्वास छ।
एमालेभित्रका विभिन्न तहका नेताहरू—वर्तमान पालिका प्रमुख जसवन्त यादव, पूर्व प्रमुख प्रदीप जयसवाल, पटेर्वा सुगौलीका पूर्व प्रमुख हरिनारायण चौधरी, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान तथा पकाहा मैनपुरका पूर्व प्रमुख विजय चौरसिया लगायतबीच समन्वय भए पार्टीको पुरानो आधार बलियो हुने विश्लेषण गरिएको छ।
उता कांग्रेसभित्रको आन्तरिक मनमुटाव, युवा मतदाताको अपेक्षाप्रति पुराना नेतृत्वको कमजोरी तथा विकासका विषयमा असन्तुष्टि जस्ता कारणले कांग्रेस उम्मेदवार चौधरी दबाबमा परेको टिप्पणी सुनिन थालेको छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाको उम्मेदवारीले विशेषगरी कांग्रेस मतमा असर पार्ने चर्चा छ। स्थानीय वृत्तमा उनको प्रभाव ‘भोट कटुवा’ का रूपमा सीमित रहने आकलन गरिएको छ।
स्थानीय राजनीतिक वृत्तका अनुसार युवा, विद्यार्थी, महिला, किसान तथा मजदूर वर्गका मतदातालाई आकर्षित गर्न सके पाण्डेको सम्भावना अझ बलियो बन्ने देखिन्छ। गत निर्वाचनमा एमालेका उम्मेदवार राजकुमार गुप्ताले विजय हासिल गरेको पृष्ठभूमिले पनि पार्टीलाई आफ्नो प्रतिष्ठा जोगाउन थप दबाब सिर्जना गरेको बताइन्छ।
समग्रमा, पर्सा–३ मा चुनावी प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको छ। अन्तिम परिणाम पार्टी एकता, मतदाताको मनोविज्ञान तथा चुनावी रणनीतिमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।


