वीरगंज । आर्थिक वर्ष २०८१/८२ को प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षामा बारा जिल्लाको परवानीपुर गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेको छ । साथै, मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये २४औँ स्थानमा हासिल गरेको छ ।

गाउँपालिकाले यस उपलब्धि स्वास्थ्य शाखा प्रमुख जय कृष्ण मिश्रको सक्षम नेतृत्व, दूरदृष्टि र व्यवस्थापन क्षमतासँगै गाउँपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको समर्पण, मेहनत र सेवाभावको प्रतिफल भएको जनाएको छ।
परवानीपुर गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य, खोप कार्यक्रम, पोषण, सरुवा रोग नियन्त्रण, स्वास्थ्य सूचनाको नियमित अभिलेख र समयमै प्रतिवेदन पेश गर्ने प्रणाली तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा उल्लेखनीय सुधार गरेको थियो। यही कारण प्रदेश स्तरीय मूल्यांकनमा उत्कृष्ट ठहरिएको हो।
स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणले यस उपलब्धिलाई गाउँपालिकाको सामूहिक सफलता मान्दै स्वास्थ्य शाखा प्रमुख जय कृष्ण मिश्रसहित सम्पूर्ण स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्।
यस सफलताले परवानीपुर गाउँपालिकालाई आगामी वर्षहरूमा स्वास्थ्य सेवा क्षेत्रमा अझ सबल र उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।


