परवानीपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको दिशामा चौतर्फी रूपमा अघि बढिरहेको दाबी गरेका छन् ।

बारा जिल्लाको परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका क्षेत्रमा सरकारको प्राथमिकता अनुसार तीव्र गतिमा विकास कार्य अघि बढिरहेको बताएका हुन् ।
उनले देशलाई आधुनिक कृषि प्रणालीतर्फ लैजाने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै भने, “सरकार विकासको गति अझ तीव्र बनाउने प्रतिबद्धताका साथ कार्यरत छ।”
प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा समान रूपमा प्रगति गराउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने उद्देश्य रहेको समेत बताए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको काम प्रारम्भ गराएको स्मरण गर्दै अहिले यसको निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको बताए । केही स्थानमा प्राविधिक कारणले काममा ढिलाइ भएको स्वीकार गर्दै त्यसमा ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
प्रधानमन्त्री ओलीले बारा जिल्लालाई माछाको सुपर जोनको रूपमा घोषणा गरिएको दाबी गर्दै यसले किसानको आम्दानी चार गुणाले बढेको बताए। उनले नेपालको आवश्यकतालाई परिपूर्ति गर्दै कृषिमा आधुनिकीकरण तीव्र गतिमा बढेको र यसबाट ठूलो मात्रामा उत्पादन गरी त्यसलाई बजारसम्म पु¥याएर नयाँ नेपाल निर्माणको बाटोमा विकसित बनाउने लक्ष्य रहेको बताए।
गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा लाेसपाका अध्यक्ष महन्थ ठाकुर, श्रम, राेजगार तथा समाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ, जवाला साह, प्रभु हाजारा, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमाेद जयसवाल, प्रदेश सांसद जितेन्द्र साेनल लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रमममा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार राैनियारले राखेका थिए । प्रशासकी अधिकृत राैनियारले पालिकाकाे आन्तरिक स्राेत कुल ३ कराेड २५ लाख ९१ हजार ५९१ रुपैयाकाे लागतमा प्रशासनिक भवनकाे निर्माण कार्य सम्पन्न भएकाे वताए ।


