देशमा संघीय गणतन्त्रात्मक व्यवस्था छ, जसलाई संसारकै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था पनि भनिन्छ । हरेक कुरामा नागरिकलाई स्वतन्त्रता छ । जसले अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको छ । यसले गर्दा आम सर्वसाधारण नागरिकले पनि नेतृत्व तहमा भएका जिम्मेवार व्यक्तिलाई सल्लाह सुझाव मात्रै हैन, आलोचना पनि गर्ने छुट छ ।

तर पछिल्लो समय यही अभिव्यक्ति स्वतन्त्रताको गलत ढंगले दुरुपयोग भइरहेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र खेल चलीरहेको अवस्थामा कतिपयले उनको अभिव्यक्तिलाई नै लिएर बहिष्कारको अभियान मात्रै चलाएका छैनन् । अभिनेत्री पन्तको चरित्र हत्या गर्ने गरी खनिएका छन् । उनीहरुले गाली गलौज मात्रै हैन, अश्लिलताको पराकाष्टा पनि पार गरेका छन् ।
अभिनेत्री पन्तले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति यति धेरै आक्रोश पोख्नुपर्ने कुनै पनि कारण देखिदैन । न त उनले गाली खानुपर्ने खालको अभिव्यक्ति नै दिएकी छिन् । तर पनि एकथरीले उनीप्रति निरन्तर प्रहार गरीहेका छन् । अहिले अभिनेत्री पन्तको पक्षमा कलाकारदेखि थुप्रैले समर्थन पनि जनाएका छन् ।
उनीहरुले सुुरक्षाको पक्षमा धारणा राख्दै लोकतन्त्रमा पनि बोल्दा गाली खानुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सुरक्षाकै नियती भोग्नुपरेको थियो गायक, नायक तथा निर्देशक प्रकाश सपुतले । उनले पहिलो पटक लेखन र निर्देशनमा डेब्यु गर्नुका साथै अभिनय पनि गरेको चलचित्र बसन्त रिलिज हुने क्रममा उनी एउटा कार्यक्रममा गए । कार्यक्रममा सहभागी मात्रै भएनन्, उनले मत्नव्य पनि राखे । त्यही मन्तव्य उनलाई भारी भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा बोल्न पाएपछि उनले ओलीको जीवनमा आएको परिवर्तनको प्रसंशा गरे । सपुतले ओली सामान्य परिवारबाट हुर्किएर मृगौला फेल भएर पनि देशकै दोस्रो ठूलो पार्टीको अध्यक्ष मात्रै हैन, देशकै प्रधानमन्त्री समेत पटक पटक हुनु पनि ठूलो उपलब्धी हो भनेर उनले भाषण गरे । यसबाट अरुले पनि उनको संघर्षको अनुकरण गर्नुपर्ने धारणा राखे ।
भलै देशको विकास र जनताको हीतका लागि उपलब्धीमूलक काम र योजना ल्याउन नसकेपनि उनको व्यक्तिगत जीवनमा आएको परिवर्तन र ओलीको साहसको सपुतले खुलेरै सह्राना गरे । जसका उनी हकदार पनि हु्न् । तर त्यही अभिव्यक्तिले उनको चलचित्र मात्रै धक्का पुगेन । उनको व्यक्तिगत चरित्रमाथि नै औँला उठाइयो । ओलीको भक्त र पुच्छरसमेत भन्न भ्याए नागरिकले । यस्ता घटनाले गर्दा कसैले आफ्नो धारणा नै राख्न नपाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ ।
सुरक्षा र प्रकाश सपुतका पछिल्ला उदाहरणीय घटना हुन् । यस्ता अन्य थुपै्र पात्र र घटना छन् । जसले बोलेकै कारण, आफ्नो बुझाई र धारणा राखेकै कारण गाली खानुपरेका छ । लोकतन्त्रमा पनि बोलेकै कारण गाली खानुपर्छ भने लोकतन्त्रको पनि के अर्थ भन्ने बहस पनि सृजना भएको छ । त्यसैले कसैले आफुलाई लागेको धारणा राख्दैमा उसको विचारमा सहमती वा असहमती राख्न पाइयो, त्यो पनि तर्कसंगत तरिकाले । तर गाली गलौज, मान हानी र चरित्र हत्या गर्न भने कसैलाई पनि कदापी छुट छैन । यस्तो गर्नेलाई कानुनबमोजिम कारवाहीको दायरामा ल्याउन जरुरी छ ।


