Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

बालबालिकाको सन्दर्भमा सकारात्मक अनुशासन

spot_img
spot_img
  • रामनारायण साह रौनियार

सबै अभिभावक या शिक्षकले बालबालिकालाई उचित शिक्षाका साथ राम्रो वातावरणमा हुर्काउने चाहना राख्छन । आफ्ना बालबालिका शिक्षित होउन्, असल र अनुशासित होउन् भन्ने चाहना सबै अभिभावकको हुन्छ तर जानेर वा नजानेर बालबालिकाप्रति अभिभावकले गर्ने विभिन्न व्यवहार, विद्यालयको व्यवहार र वातावरण बालबालिका लागि सुहाउदो, सजिलो र उपयोगी नभई रहेको पाईन्छ । बालबालिका छलफल गर्न, आफ्नो विचार प्रकट गर्न चाहन्छन, जिज्ञासु हुन्छन, सहभागी हुन चाहन्छ, आफैले प्रयोग गरेर सिक्न चाहन्छन, प्रशंसा र प्रोत्साहन पाउन चाहन्छन, चन्चल हुन्छ जसले गर्दा बालबालिकाको कतिपय व्यवहार र क्रियाकलाप अभिभावक वा शिक्षकलाई नराम्रो लाग्न सक्छ र उनीहरुलाई सही बाटोमा ल्याउने भनेर शारीरिक मानसिक सजाय दिने गरेको पाईन्छ । अहिले पनि सुधारको लागि पिटाई आवश्यक छ, म पनि पिटाई खाएर नै हुर्केको हो, हितका निम्ति सजाय दिनु अपराध होईन, जोखिम बाट जोगाउन सजाय दिएको जस्ता भ्रम कायमै रहेको पाईन्छ ।

विश्वभरिका १३५ राष्ट्रहरुले विद्यालयमा दिईने दण्डसजाय पुर्णरुपमा प्रतिबन्ध गरेका छन भने ६३ राष्ट्रले बालबालिकालाई जुनसुकै स्थान वा अवस्थामा दिईने दण्डसजायलाई पुर्ण रुपमा प्रतिबन्ध गरेका छन जसमध्ये नेपाल पनि एक हो । नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु जस्तै मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, बालअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९, दिगो विकास लक्ष्य आदिमा हस्ताक्षर गरेको छ । यी अन्तर्राष्ट्रिय दस्तावेजहरुमा बालबालिकाहरुलाई दण्ड सजाय लगायत कुनै पनि किसिमको हिंसा, दुव्यर्वहार, शोषण आदिबाट संरक्षण गर्नुपर्ने उल्लेख छ । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हक अन्तर्गत कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाईने उल्लेख छ । त्यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ ले जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड सजाय दिने वा अमर्यादित व्यवहार गर्ने कार्यलाई बालबालिका विरुद्ध कसुर मानेको छ र त्यस्तो कसुर गर्ने व्यक्तिलाई पचाँस हजार सम्म जरिवाना र एक बर्ष सम्म कैद सजाय हुने समेत उल्लेख गरेको छ । कानुनी व्यवस्था हुदाहुदै बालबालिकाहरु अहिले पनि विभिन्न बहानामा दण्डसजायको सिकार भईरहेका पाईन्छन । केन्द्रिय तथ्यांक विभागले हरेक पाँच बर्षमा गर्ने मल्टिपल इन्डिकेटर कलस्टर सर्भे २०१९ मा १४ बर्ष मुनिका ८० प्रतिशत बालबालिकाहरु वितेको एक महिना भित्र शारिरीक वा मनोवैज्ञानिक दण्ड सजाय भोगेको बताएको पाईएको छ ।

बालबालिका भएका घरपरिवार, बालगृहहरु, सुधार गृह, खेल्ने स्थान र उनीहरु पढ्ने विद्यालयमा अनुशासन कायम गर्ने नाममा बालबालिकामाथि शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ । दण्डसजायले गर्दा बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन तथा दीर्घकालीन रुपमा नकारात्मक असरहरु देखा पर्दछन । दण्डसजाय पाउने बालबालिकामा तत्कालिन शारिरीक असर देखिनुको साथै मनोवैज्ञानिक र संवेगात्मक रुपमा पनि नकारात्मक असर पर्ने कुरा विर्सनुहुदैन । चिन्ता, उदासीनता, सुत्न नसक्नु, स्मरणशक्तिमा कमि, आत्मविश्वासमा कमि, नकारात्मक अभिवृति, अरुसंग घुलमिल हुन गाह्रो हुनु, लागुपदार्थको दुव्यर्सनीमा लाग्नु जस्ता असर पर्न जान्छ । विद्यालयको सन्दर्भमा भन्ने हो भने बालबालिकामा पढ्ने, सिक्ने ईच्छा हराउनु, शिक्षकप्रतिको विश्वास गुमाउनु, विद्यालयसंग डराउनु, उत्तेजित, आक्रमक हुनु, विद्यालय जान छोड्नु, आफुलाई काम नलाग्ने महसुस गर्नु जस्ता असरहरु देखिन्छ । विद्यालय बालबालिकाको निम्ति भनेर खोलिएको र विद्यालयको सबै गतिविधि बालबालिकालाई नै राम्रो होस् भन्नका लागि गरिने हुदाँ अनुशासन पालना गर्ने गराउने क्रममा बालबालिकालाई नकारात्मक प्रभाव पार्ने वा सुधार गर्ने नाममा झन् विगार्ने काम गर्नु कहाँसम्म उचित हो सोच्नुपर्ने हुन्छ । बालबालिकामा अनुशासन कायम गराउन दण्डसजाय नै दिनु पर्दछ भन्ने छैन । उनीहरुसंग गरिने सकारात्मक र मैत्रीपुर्ण व्यवहारले पनि अनुशासन कायम हुन सक्दछ । यस प्रकारको विधिलाई सकारात्मक अनुशासन भनिन्छ । सकारात्मक अनुशासन पद्धतिले बालबालिकाको अधिकारको उल्लंघन नगरीे बालबालिकालाई सहयोग, प्रोत्साहन र पुरस्कृत गरेर धेरै सिकाउन सकिन्छ भन्ने मान्यता राख्दछ । यस पद्धतिले बालबालिका र अभिभावक वा शिक्षकको सम्बन्धलाई पनि मजबुत पार्दछ भने बालबालिकालाई अभिभावक वा शिक्षक माथि विश्वास गर्ने र उनीहरुबाट राम्रा कुरा सिक्न प्रेरणा दिईराख्छ र बालबालिकालाई आफ्नो गल्ती महसुस गराई गल्ती नदोहोर्याउन मद्दत गर्दछ ।

बालबालिकालाई राम्रो कामको प्रोत्साहन गर्दै कुन व्यवहार किन राम्रो हो वा नराम्रो हो भन्ने बारेमा स्पष्ट गरिदिएमा उनीहरुको व्यवहार परिवर्तन गर्न सकिन्छ । बालबालिकाहरु घरपरिवार भित्रका समस्याहरु, विद्यालय परिसर र बाहिरका समस्या, कक्षाकोठा भित्रका समस्या, शिक्षकको कारण सिर्जित समस्याहरु आदि कारणले अनपेक्षित व्यवहार देखाउने गर्दछन । बालबालिका कुनै गल्ती गरेमा त्यसको मुल कारण के हो पता लगाई सम्बन्धित बालबालिकासंग नै सल्लाह गर्ने गरिएमा विद्यार्थीले भोगेको समस्या वा मुल कारणको बारेमा जानकारी हुनाका साथै समाधानका उपालयहरु पनि संयुक्त रुपमा निकाल्न सकिन्छ । समस्याग्रस्त बालबालिकाको बारेमा अभिभावकसंग छलफल पनि गर्न सकिन्छ । गल्ती भएकोमा त्यसो नगर भन्नुको साटो सही कुरा के हो वा गर्नुपर्ने के हो त्यो बताईदिए उनीहरु अझ प्रष्ट हुन्छन । बालबालिकाहरुलाई यसो गरेमा यसको परिणाम यो हुन्छ भनेर स्पष्ट गरिदिएमा कुनै कार्य गर्दा वा नगर्दा के हुन्छ भनी सोच्ने अवसर पाउँछन उनीहरु आफै जिम्मेवार छन भन्ने महसुस पनि हुन्छ । बालबालिकालाई बदमास, खराब भन्नु भन्दा उसले गरेको सामान्य राम्रो कामलाई पनि अगाडि ल्याई उसको प्रशंसा गदै उसले के गल्ती गरको हो त्यो बुझाएर सुधार गर्ने अवसर समेत प्रदान गरिदिदा पक्कै पनि परिवर्तन आउनेछ । सजायले एक छिनलाई समस्या समाधान भएको जस्तो देखिएपनि पनि यसको दीर्घकालीन परिणाम राम्रो हुदैन । तसर्थ डर र दवावले अनुशासन कायम गराउनु भन्दा समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ ।

बालबालिकाको पनि व्यस्क सरह मानव अधिकार हुन्छन, उनीहरु शरिरीक र मानसिक रुपमा परिपक्व भईनसकेको हुनाले अझ बढी संरक्षण, स्याहार माया, हेरचाहको आवश्यकता हुन्छ । अन्य बालबालिकाको भन्दा दण्डसजाय पाउने वा डर त्रासमा बाच्ने बालबालिकाको मस्तिष्क विकास पनि कम हुने कुरा रिसर्चमा प्रमाणित भईसकेको छ । हाम्रो चाहना र उद्देश्य राम्रो भएपनि हामीले अपनाएको प्रक्रियाले बालबालिकामा नकारात्मक असर पर्ने भएकोले बालबालिकालाई डर, त्रास र भयले नभई रहरले अनुशासित बन्ने वातावरण सिर्जना गर्ने जिम्मेवारी अभिभावक, शिक्षक लगायत हामी सबै व्यस्कको हुन जान्छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...