वीरगंज । माेटरसाइकलकाे ट्याङ्कीबाट प्रहरीले श्रोत नखुलेको नेरू.४१ लाख ५५ हजारसहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकबाट भारत विहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.११ बस्ने वर्ष २५ को राकेश कुमारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
विषेश सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार विहान ८ बजे रजतजयन्ती चोकस्थित सडक खण्डबाट स्राेत नखुलेकाे ठुलाे रकमसहित राकेशलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेकाे राकेशले चलाएकाे बिआर ०५ एन ०२३३८ नम्बरको हिरो होण्डा ग्लैमर मोटरसाईकल रोकी जाँच गर्दा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.४१ लाख पचपन्न हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए ।
फेला परेकाे उक्त रकम र मोटरसाइकलसहित राकेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धकाे कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले वताए ।






