Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

वीरगञ्जमा प्राकृतिक चिडियाखाना स्थापना हुने, कार्यदल गठन

spot_img
spot_img

 वीरगंज । संघिय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले घोषणा गरे अनुरुप वीरगंजमा प्राकृतिक चिडियाखाना स्थापना गर्ने निर्णय भएको छ । जिम्मेवारी सम्हालेसँगै मन्त्री यादवले वीरगंजमा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङ्गलबार ८ सदस्यीय कार्यदल गठन भएकाे छ ।

मन्त्री यादवकाे अध्यक्षतामा बसेकाे बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेकाे मन्त्री यादवका उप–स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । चिडियाखानाको स्थापनाले वीरगंज क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गल संरक्षणमा पनि टेवा पुग्ने मन्त्री यादवको विश्वास छ ।

कार्यदलले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिन भित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने छ । प्रतिवेदन पेश गरे लगत्तै यसै महिनाभित्र चिडियाखाना स्थापनाका लागि काम शुरु गर्न मन्त्री यादवले निर्देशन पनि दिएका छन् ।

‘वीरगञ्जको बाटो हुँदै वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन्, तर वीरगञ्जमा नबसेर अन्य ठाउँहरु घुम्न जान्छन्,’ मन्त्री यादवले भने, ‘किनभने पर्यटकलाई वीरगञ्जमा रोक्न सक्ने कुनै त्यस्तो लोभलाग्दो गन्तव्य छैन । त्यसैले पनि वीरगञ्जमा पर्यटक रोक्न र यहाँको आर्थिक गतिविधिलाई बढाउन चिडियाखाना स्थापना गर्न लागेका छौं । यसले पर्यटकीय र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।’

बैठकमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगंज चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकारले पनि हरेक सहयोग गर्न तयार रहेको बताए । प्रदेश सरकारले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउनेदेखि बजेट व्यवस्थापनमा समेत सहयोग गर्न मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि चिडियाखाना स्थापनाले पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गलमा भइरहेको अतिक्रमण रोक्न सघाउ पुग्ने बताए । चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउन र मन्त्रालयसँग समन्वय गर्न महानगरको कार्यपालिका बैठकले निर्णयसमेत गरिसकेको मेयर सिंहले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, सह सचिव धनञ्जय पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, वन तथा भू संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसी लगायत मन्त्रालयका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थितीमा भएको छलफलले कार्यदल गठन गरिएको हो ।

कार्कीको संयोजकत्वमा गठीत कार्यदलमा मधेश प्रदेशका वन निर्देशक, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भू संरक्षण विभागका सहायक वन अधिकृत सवनम पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ प्रतिनिधि सदस्य रहनेछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा सदस्य सचिव रहने समेत निर्णय भएकाे जनाइएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...