Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर:आदर्श मिश्रा

spot_img
spot_img

चर्चित युवा  स्ट्यान्ड अफ कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको मंगलबार बिहान निधन भएको छ ।

आदर्शले पिताको मृत्युबारे आफ्नो आधिकारिक युट्युब च्यानलमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो पिताको मृत्युका लागि नेशनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताल जिम्मेवार भएको बताएका छन् ।

उनले भनेका छन्–‘मलाई मानिसहरु विनोद मिश्राकै छोरा भनेर चिन्छन् । मेरो बुबाले चलाएको स्कुल अहिले विजोग छ । उहाँले मृगौला फेल भएपनि सफलताका साथ स्कुल चलाउनुभएको थियो । केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर । तिमी त भेडाहरुलाई पछाडि हुल लगाएर हिडेका छौं । भारतको विरोध गरेर चुनाव जित्यौं । तिमी राम्रो नेता होइन केपी ओली ।’

आदर्श मिश्राका भनाई उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।

“बाबा हुनुहुन्नँ अब । मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेशनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताललाई मान्छु किनभने बाबालाई दुई हप्ता अघि डायलाइसिसमा लैजाँदा एसपीओटु नाइन्टी छ भनेर तपाईंको डायलाइसिस यहाँ हुँदैन भनेर हामीलाई एनएमसीबाट निकालिदिएको हो । चार वर्ष मेरो बाबाले एनएमसीबाट डायलाइसिस गराउनुभएको हो । पर डायलाइसिस ३५ सय उनीहरुले सरकारबाट उठाएको हो । कमाउने बेला तिमीहरुले कमाउने, बिरामीलाई गाह्रो भएको बेला चाहिँ धपाइदिने । त्यहाँ मेसिनहरु, डायलुजरहरु केही पनि राम्रो छैन । एनमएसीको कन्ट्र्याक्ट, डायलाइसिस मेसिनको समग्र कुराहरुको कन्ट्र्याक्ट लिएको छ नेफ्रो प्लसले जुन भारतीय कम्पनी हो । अनि भारतको एउटा नागरिकले जो नेपालमा कार्यरत छ, उसले निर्णय गर्न पाउँदैन के, डायलाइसिस कसको हुन्छ र कसको हुँदैन । को बाँच्छ र को बाँच्दैन त्यो एउटा भारतको नेपालमा कार्यरत मान्छेले गर्न पाउँदैन । भारतको मान्छे आएर यहाँ तलब खाने हो । नेपालको बिरामीलाई हप्काउने होइन । हाम्रो जीवन त्यसको हातमा छैन । नेफ्रो लाइफबाट उनीहरुले कमिसन खाएर एउटा डायलाइसिसमा, एउटा डायलुजरले १२ वटासम्म डायलाइसिस गरेको छ, मेरो बाबाको । ८–९ वटा त कम्तीमा छ । मसँग सबै सूची छ । गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा नारायणीको डायलाइसिस बिरामीहरुलाई एनएमसी सिफ्ट गरेको थियो । एक महिनाभित्र पाँचजना बिरामीको मृत्यु भएको थियो । डायलुजर मेसिन नफेरेर ।

नेफ्रो प्लसले पैसा बचाउन असाध्यै धाँधली गरिरहेको छ, त्यहाँ । एनएमसी अस्पताललाई गत साता केन्द्रबाट आदेश आएको थियो । तपाईंको २० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याइदिनु भनेर । अनि एनएमसीले म केन्द्रको आदेश मान्दिनँ भन्यो किनभने एनएमसीका संस्थापक बसुरुद्दीन अंसारी हो । र बसुरुद्दीन अंसारी निकै नै शक्तिशाली मान्छे हो । उहाँको गुन्डागिरी अति नै धेरै चल्छ । उहाँलाई केरकार गर्ने कोही पनि छैन । उनी यत्ति शक्तिशाली मान्छे हुन् कि गत वर्ष केपी ओलीको ट्रान्सप्लान्टमा जति पनि खर्च भएको हो, बसुरुद्दीन अंसारीले नीजि रुपमा आफैंले त्यो खर्च व्यवहोरेका हुन् । प्रेस विज्ञप्ति निकालेर यो कुरा घोषणा नै गरिएको हो ।

कलेजमा विद्यार्थीहरुले शुल्क बढायो, केही सुविधा छैन भनेर आन्दोलन गर्दा गुन्डा बोलाएर विद्यार्थीहरुलाई कुट्न लगायो । त्यतिसम्मको घटिया अस्पताल हो, नेशनल मेडिकल कलेज विरगञ्ज ।

एनएमसीको गुन्डागर्दीले गर्दा मेरो बाबा आज हुनुहुन्नँ । यसको सुनुवाई गर्ने कोही पनि छैन । कोही पनि माथि छैन । अनि छानबिन हुन्छ ? हुँदैन के । मलाई थाहा छ के । कोही पनि छैन काठमाडौंबाट आएर अनुसन्धान गर्ने कि एउटा मेडिकल कलेज चलाउनका लागि तँ योग्य छ कि छैनस् । पैसा मात्रै भएर हुन्छ यार ? पैसा मात्रै भएर हुने भए त पैसैको त त्यति कमी थिएन नि मलाई ।

नरायणी अस्पतालले यस्तो बेलामा ‘राइभलरी कार्ड’ खेलिरहेको छ । नारायणी अस्पतालले के गरिरहेको छ भने, यदि एनएमसीले आफ्नो बिरामीको डायलाइसिस आफैं गर्दैन भने, हामी किन गर्ने, एनएमसीको बिरामीलाई । किनभने तपाईंका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले गएर मिडियामा स्वीकार्नु भएको छ कि प्रदेश नम्बर दुईको जति पनि कोभिड संक्रमितको म गर्छु नारायणी अस्पतालमा भनेर । एउटा मेसिन बिग्रिँदा त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर भाइ दुबै मेसिन बिग्रियो भनेर अफवाह फैलाउनेलाई कारवाही हुने कि नहुने ? भाइ सूचना नै निकालिसक्यो । सूचना आएकै छैन । दुबै मेसिन बिग्रियो भाइ ।

डाक्टरले युरिया २६० छ, दिमागमा युरिया पुगिसक्यो उहाँको बुवाको, प्लिज चार घण्टा डायलाइसिस गरिदिनुहोस् भन्दा डाक्टरको अगाडि चार घण्टा नम्बर सेट गर्ने र डाक्टर गइसकेपछि त्यसलाई तीन घण्टा बनाइदिने त्यसलाई । एक घण्टा घटाइदिएर तपाईंले आयु पनि घटाइदिनु भएको हो के दिदी तपाईंले । हजुरलाई छिटो घर पुग्नु थियो होला तर कोही मान्छे घर पुगेनन् क्या । तपाईंको एक घण्टाको हतारले गर्दा कोही मान्छे घर नै पुगेनन्, यसका लागि धेरै धेरै धन्यवाद ।

मान्छेहरुले भनिरहेका छन् अहिले कि आदर्शको बाबा धेरै नै गौरवान्वित महसुस गर्नुहुन्छ भनेर तर म एक छोराको रुपमा पूर्ण रुपमा असफल भएँ । मैले गर्नु पर्ने कुराहरु गर्न सकिनँ । बचाउन सकिन्थ्यो होला, मैले टन्नै गलत निर्णयहरु लिएँ होला । काठमाडौं लिएर जानुपर्ने थियो होला । भरतपुर अस्पतालमा रातभरी डाक्टरलाई ‘सर, १०५ ज्वरो छ सर, बाबालाई होस् छैन सर’ ‘एसपीओटु ठिक छ भाइ, भाइटल्स ठिक छ भाइ’ ‘आइसीयूमा राखिदिनु न सर, आइसीयूमा राखिदिनु न सर’ भन्दाभन्दै बिहानको १० बजे बाबा बित्नुभयो ।

एसपीओटु मात्रै ठिक भएर यदि कोभिडको उपचार हुने भए त अक्सिमिटर लिएर म पनि डाक्टर हुन्थेँ नि सर । किन स्ट्यान्ड अप गरिरहेको हुन्थेँ ?

मान्छेहरुले अहिले के भनिरहेका छन् भने आदर्शको बुवा जहाँ पनि हुनुहन्छ, खुसी हुनुहुन्छ किनभने उहाँ उहाँको छोराको नामले चिनिनुभएको छ । ‘बिनोद मिश्रा, फादर अफ आदर्श मिश्रा ।’ त्यस्तो केही पनि होइन, तपाईंहरुले मेरो बाबा नचिन्नुभएको हो । मेरो बाबा मभन्दा पनि चर्चित हो । म टिभीमा आइसकेँ तर यो ठाउँमा मलाई भन्दा मेरो बाबालाई धेरैले चिन्छन् । अहिले पनि विनोद मिश्राको छोरा भनेर चारैतिर मेरो नाम चल्छ । कुनै पनि पसलमा यो औषधी विनोद सरको घरमा लानुपर्छ भन्यो भने अहिलेसम्म पैसा तिर्नुपरेको छैन । त्यतिसम्मको विश्वासयोग्य, इमानदार व्यक्ति हो उहाँ । पैसाको कुरामा, व्यवस्थापनको कुरामा जे पनि नै कुरामा उहाँ उत्कृष्ट हुनुहुन्थ्यो ।

उहाँ नगोल स्कूलको प्रधानाध्यापक हुनुहुन्थ्यो । यहाँको सबैलाई सोध्नुहोस् कि उहाँ अघिको नगोल स्कूल कस्तो थियो र अहिलेको नगोल स्कूलको भवन, शौचालय कस्तो छ भनेर । केही पनि सुविधा थिएन के । मृगौला फेल भएर त्यतिसम्मको काम गर्न सक्ने मान्छे हो के । केपी ओलीले त छोडिदिए हुन्छ कि कुर्सी । मेरो बाउ गाको हो कि हप्ताको दुई दिन डायलाइसिस । स्कुटरको पछाडि गएर तरपनि मेरो बाउले चलाएको स्कूल हेर र तिमीले चलाएको देश हेर एकचोटी । अनि लाज लाग्दैन भने मलाई भन । काम गर्न दिएनौ भन्छौ, काम गर्न कहाँ मन छ तिमीलाई ? ‘त्यो पर्दैन’ भन्दै बस्ने काम हो तिम्रो । भेडाहरु पछाडि जम्मा गरेको छौ, त्यहि हुल बोकेर जतिबेला पनि भारत विरुद्धमा बोलेर, एक हूल नेपालीहरु पछि लागिहाल्छन्, त्यो सेन्टिमेन्टमा तिमीले चुनाव जित्यौ । मधेसी नेताभन्दा म राम्रो छु भनेर मात्रै प्रमाणित गरेको हो के तिमीले तर तिमी यत्ति पनि राम्रो नेता भने होइनौ ।

त्यसपछि बिहान १० बजे मलाई डाक्टरले बोलाउनुभयो । अनि भन्नुभयो, ‘आदर्श, हामीले जे जे गर्न सक्थ्यौं गर्‍यौं, बाबा अब हुनुहुन्नँ । ’ त्यसपछि मैले तीनवटा शब्द मात्रै भनेँ – ‘ठिक छ, ठिक छ, ठिक छ ।’ त्यसपछि चुप लागेर गएर बसेँ । तीन घण्टासम्म अस्पतालमा मलाई मात्रै थाहा थियो कि बाबा बितिसक्नु भयो भनेर । दिदीलाई थाहा छैन, ममीलाई थाहा छैन । अब झुट बोल्ने क्रम चालू भयो । बानी थियो पहिले नै झुटो थियो । मैले लास्टै ढाँटेको छु घरमा । यसपाली ढाँट्न निकै जरुरी थियो । यसपटक ढाँट्दा समातियो भने चाहिँ धेरै गाह्रो हुन्थ्यो ।

मेरी मम्मीले पहिला नै भित्तामा हात, टाउको हान्नेँ गरिसक्नुभएको थियो । मेरो ममीको डिप्रेसनको अहिलेसम्म पनि औषधी चल्छ । त्यसपछि मैले ममीलाई अब बाबाको रिडिङ स्टेबल आएको छ, मुटुको धड्कन देखाइरहेको छ, अब बिस्तारै ठिक हुनुहुन्छ भन्दै भन्दै ढाँट्दै ढाँट्दै गएँ । अन्तिममा सन्देश, राकेश भन्ने दुईजना साथीहरुले आएर समात्न थाले मलाई । तिनिहरु नभएको भए मैले के गर्थेँ मलाई थाहा छैन । बाबालाई त्यसपछि जीतपुर लिएर आउनुपर्ने भयो । त्यसपछि ममीलाई के भन्ने ? त्यहाँबाट लिएर गएपछि बितिसक्नु भयो भन्ने थाहा पाउनुहुन्छ भनेर त्यसपछि ‘ममी यहाँ भेन्टिलेटर खाली छैन, नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था भएको छ, हामी त्यहाँ जान्छौं, बाबाको उपचार त्यहाँ हुन्छ’ भन्यौं । बाबाको ‘बडी’ प्याक गरिसकिएको थियो । एम्बुलेन्समा हालिसकेको थियो ।

आफ्नो बुढा गुमाएकी एक महिला मेरी आमालाई ‘तेरो बुढाको नारायणी अस्पतालमा उपचार हुन्छ’ भनेर सिधै श्मशान घाटमा लिएर गएँ । कति पाप छ मेरो टाउकोमा ।

मलाई जीवनमा खासै रिग्रेट छैन । तर केही कुराहरुको एकदमै अफसोस छ ।

पहिलो कुराः मेरो बाबाले बित्नुभन्दा दुई दिन अघि मलाई चिन्नुभएन । ‘आदर्श छोरा, बेटा’ नभनेर को हो यो ?’ भन्नुभयो । अन्तिम याद नै मेरो त्यहि हो । जति ‘पापा, पापा, पापा’ भनेर बोलाए पनि एकचोटी पनि बोल्नु हुन्थेन ।

दोस्रो कुराः नेपालको ठूलो स्ट्यान्डअप कमेडियन मान्दो रैछन मान्छेहरुले मलाई । राम्रै कमेडी गर्छ भन्छन् । तर एउटा पनि शो लाइभ बाबालाई देखाउन सकिएन । लास्टै ठूलो सपना थियो । प्रज्ञा प्रतिष्ठानमा एउटा शो गरेर बाबालाई फ्रन्ट रोमा राखेर एक घण्टा बाबाबारे पर्फम गर्ने । जीवनको यो सबैभन्दा ठूलो असफलता हो ।

एनएमसी, नारायणी मिलेर खाइदिए एउटा मान्छेको जीवन । अब कति जनाको खान्छन् मलाई थाहा छैन । तर लड्ने प्रयास जारी राखौं, जति जीवन बचाउन सकिन्छ, बचाऔँ । मबाट जति हुन्छ, त्यो गर्न तयार छु, मलाई १०–१२ दिनको समय चाहिन्छ होला । काजक्रियाको काम सकाएर, तपाईंहरुको हेल्प पोस्टहरु हेरेर, अक्सिजनको आवश्यकताहरु सबै पूरा गर्ने प्रयास गर्नेछु ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...