वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा कोरोना संक्रमित र अन्य सामँन्य विरामीको एकै ठाउँमा उपचार गर्ने गरिएको छ । अस्पतालको व्यवस्थापनमा कमजोरी, जनशक्ति तथा ठाउँको अभावमा आकस्मिक कक्षमै कोरोना संक्रमित र सामान्य विरामीहरुको उपचार एकै ठाउँमा भइरहेको छ ।

चैत्रको दोस्रो सातादेखि वीरगंजलगायत पर्सा जिल्लामा संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्दै गइरहेको अवस्थामा सामान्य विरामीको पनि कोरोना संक्रमितहरुसँगै उपचार भइरहेको कारण संक्रमण फैलिने जोखिम बढेको छ ।
कोरोना पुष्टि भएका विरामीसँगै आएका कुरुवासमेत विरामीसँग बसेर उनको उपचारमा चाहिने सामान एवं चेकजाँचका लागि स्वाब ल्याउने, लैजाने, खुलेआम अस्पताल परिसरमा घुम्ने गरेका कारण पनि अस्पतालबाटै संक्रमण फैलिने जोखिम बढेको हो । कोरोनाको आशंका गरिएका विरामीहरुलाई आकस्मिक कक्षमा राखेर स्वाब संकलन गर्ने, परीक्षण गर्ने एवं पुष्टि भएपछि मात्रै आइसोलेशनमा लैजाने गरिएको छ । तर, त्यसभन्दा अघि औपचारिक रुपमा संक्रमण पुष्टि हुनु अगावै संक्रमितका कुरुवामार्फत् अस्पतालका अन्य विरामीमा पनि संक्रमण फैलिरहेको छ ।
कोरोना संक्रमितको उपचारका लागि नारायणी अस्पतालमा बनाइएको २५ वेडको आईसीयूमा संक्रमितहरु बढ्दै गएको कारण तत्काल आउने विरामीहरुलाई आकस्मिक कक्षमै राखेर चेकजाँच एवं उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षलाई विभिन्न भागमा बाँडफाँड गरेर संक्रमणको आशंका गरिएका विरामीलाई एउटा क्याविनमा र अर्को क्याविनमा अन्य विरामीहरुको उपचार भइरहेको जानकारी दिए ।
पानी एवं विरामीहरुलाई चाहिने सामानहरु ल्याउनका लागि संक्रमितहरु पनि आकस्मिक कक्ष बाहिर खुलेआम घुम्ने गरेका छन् । बजारमा मास्क नलगाउनेहरुलाई कारवाही प्रक्रिया थालिएको अवस्थामा संक्रमितहरुको उपचार गर्ने अस्पताल नै व्यवस्थित हुन नसक्दा अस्पतालबाटै संक्रमण फैलिरहेको छ । अस्पताल परिसरमा जथाभावी औषधिजन्य पदार्थहरु पनि फाल्ने गरिएको कारण पनि अन्य विरामी पनि उपचारका लागि त्यहाँ गए संक्रमित हुनसक्ने सम्भावना बढेको देखिन्छ ।


