्वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ५ बहुअर्वामा हिन्दु समुदायमाथि दमन भइरहेको खुलासा भएको छ । वडाध्यक्ष असलम आलमले हिन्दु समुदायका व्यक्तिमाथि धार्मिक विभेद गरिहेको गाउँवासीले आरोप लगाएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको बहुअर्वामा हिन्दु समुदायको चाँड पर्वमा हस्तक्षेप भइरहेको उनीहरुको गुनासो छ । शुक्रवार वीरगंजमा पत्रकार सम्मेलन गर्दै बहुअर्वा निवासी हिन्दु समुदायका व्यक्तिहरुले भर्खरै बितेको होलीमा पनि प्रहरी प्रयोग गरी वडाध्यक्ष आलमले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

नेपाल धर्मनिरपेक्षता राष्ट्र भएपनि बहुअर्वामा हिन्दु धर्मावलम्बीहरुले मनाउने हरेक चाडवाडमा वडाध्यक्ष आलमको सलंग्नतामा मुस्लिम समुदायले हस्तक्षेप गर्ने गरेको स्थानीय नितिश मिश्राले बताए । उनले भने ‘३ वर्षभन्दा बढी भयो, हामी हिन्दु समाजमाथी धार्मिक हस्तक्षेप हुन थालेको, हामीले गर्ने बिहेवारीमा पनि बाजागाजा बजाउन दिदैनन् ।’ वडाध्यक्ष आलमले होली गाउने समयमा गाउँको बिचमा रहेको मस्जिद नजिकैको बाटोमा प्रहरी खटाएर होली मनाउन पनि अवरोध गरेको अर्का स्थानीय सुनिल रायभरले वताए । सुरक्षित रुपमा स्वास्थ्य सर्तकता अपनाएर मनाइने होलीमा पनि पहुँचको आधारमा सुरक्षाकर्मी नै परिचालन गरेर अवरोध खडा गर्नु धर्म तथा संस्कृतिमाथीको प्रहार भएको स्थानीय अग्रज जोगि रायभरको भनाई छ ।
करिब डेढ किलोमिटर बहुअर्वामा दुवैतिर हिन्दु समुदाय र बिचमा बहुसंख्यक मुस्लिमहरुको बसोबास रहेको छ । ७० प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको छ भने ३० प्रतिशत मात्र हिन्दु समुदायको बसोबास रहेको छ । एक गाउँबाट अर्काे गाउँमा होली (तराई मधेसमा होलीमा गाइने गीत) गाउँदै जाने क्रममा वडाध्यक्ष आलमले प्रहरी प्रयोग गरेर रोक लगाए । आपसी सद्भाव र एकताको पर्व होली कै दिन पहुँचको आधारमा प्रहरी प्रयोग गरेर आवतजावत समेत गर्न नदिए होली नै प्रभावित बनाएको अर्का स्थानिय शिवशरण महतोले बताए ।
उनीहरुका अनुसार गत वर्ष पनि होली मनाईरहदाँ मुस्लिम समुदायबाट ढुंगामुढा प्रहार हुँदा ७ जना स्थानीय हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए । राजनितिक पहुँचको आधारमा वडाध्यक्ष आलमले घटनालाई साम्य बनाउँन विभिन्न चलखेल समेत गरेको उनीहरुको आरोप छ । विवाद पश्चात जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीकै रोहबरमा पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव लगायतको उपस्थितीमा भएको ५ बुँदे सहमति भएको थियो ।
होली तथा बिहेबारीमा विवाहको बाजागाजामा मुस्लिम मसुदायबाट अवरोध नहुने, धार्मिक स्थल तथा ब्रहमस्थानमा तोडफोड नगर्ने, हिन्दु समाजको गौतर पर्ति जग्गाको नाप नक्सा गरी छुट्याउने लगायत पाँच बुन्दे सहमती मुस्लिम समाजले गरेका थिए तर राजनितिक पहुँचको आधारमा हालसम्म उक्त सहमती कार्यान्वयन नगरेको मिश्रले बताए । बहुसंख्यकको बल र पहुँचको आधारमा विगत ३ वर्षदेखी हिन्दु समाजमाथी मुस्लिम समुदायले दमन गर्दै आएको हिन्दु समाजको आरोप छ । हिन्दुहरुको महान चाड छठ तथा दिपावलीमा मुख्य सडकमै रागां काटेर पुरै सडक रगतयाम गरी अशुद्ध बनाई चाडपर्व समेत प्रभावित गर्दै आएका छन् ।
स्थानिय ६५ बर्षिय बृद्ध रामशरण राय भरले भने, २० बर्ष पहिला पनि मुस्लिम समुदायले हिन्दुमाथि अन्याय अत्याचार गर्न खोजेका थिए, त्यो बेला हिन्दु समाज एकजुट हुदाँ उनीहरु पछि घटेका थिए तर तीन बर्ष यता जनप्रतिनिधिमा निर्वाचित मुस्लिम वडाध्यक्ष भएपछि पुनः हिन्दुमाथि अन्याय र अत्याचार गर्न खोजिएको छ, स्थानिय प्रशासनले यसमा ठोस निर्णय नलिए ठूलो दुर्घटना निम्तन सक्ने चेतावनी समेत उनले दिए । नगरपालिकामा ९ वटा वडा छ । हामी ५ नम्बर वडामा कम्जोर छौ, यहाँ मुस्लिम ७० प्रतिशत छन, तर पुरै ९ वटा वडा मिलाए भने हामी ९० प्रतिशत हिन्दु छौ उनले भने, स्थानिय प्रशासनले समयमै कारवाही नगरे, त्यसको परिमाण नराम्रो हुने छ ।
यता वडाध्यक्ष आलमले भने दुवै पक्ष मिलेर होली मनाएको आफुमाथी लगाइएका आरोपहरु सबै निराधार भएको सफाई दिएका छन् । हुन त घटना स्थलको तस्बिर हेर्दा गाउँमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रस्टाएको छ । आलम तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् ।


