Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 381

सर्लाहीमा दुई बालिका बलात्कृत

वीरगंज । मधेश प्रदेशकाे सर्लाहीमा दुईटा बालिकाकाे बलात्कार भएकाे भन्दै प्रहरी कार्यालयमा उजरी परेकाे छ ।

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–३ का २८ वर्षीय श्याम कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा मंसिर ११ गते पीडित पक्षले उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको पीडित पक्षले बताएकाे छ ।

घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएकाे छ ।

यसैगरी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा मङ्सिर १२ गते पीडित पक्षले उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जनाएकाे छ ।

घटनापछि आरोपित महतो फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका सई सुवाश यादवले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएकाे छ ।

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

वीरगंज । प्रहरीले श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादवलाई पक्राउ गरेकाे छ । यादवविरूद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ ।

प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्जितालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट उनको घरमै मृत्यु भएपनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए ।

भोलिपल्ट छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै संजितको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डिएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिवार देवेन्द्रलाई पक्राउ गरी सोधपछु गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए ।

नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०/३५ किलोमिटरको दुरीमा रहेको भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँमा रहेको झाडीबाट आइतबार विहान सञ्जिताको शव फेला परेको थियो।

भारतीय प्रहरीसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सञ्जिता शव पोष्टमर्टम गरिएको डिएसपी पाण्डेयले बताए। उनका अनुसार देवेन्द्रलाई ९ मंसिरदेखि लागू हुनेगरी सिरहा अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

बुहारीको हत्या आरोपित ससुरा पक्राउ

वीरगंज । सिरहाकाे कल्याणपुर नगरपालिका—८ की २७ वर्षीया संगिता दासको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले उनका ५१ वर्षीय ससुरा रामअशिष दासलाई पक्राउ गरेकाे छ । 

आरोपितले बुहारीलाई कात्तिक २७ गते घरायसी बिवाद हुदाँ टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेको थियो । पीडितको घटनास्थलमै मृत्यु भएको र आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २८ गते उजुरी दिएको मृतकका पति राजकिसोर दासले बताए । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल सिरहामा कात्तिक २८ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटना पछि आरोपित फरार रहेका थिए । विशेष सूचनाको आधारमा आरोपितलाई लुकिछिपी बसेको स्थानबाट गिरफ्तार गरी कारबाही प्रक्रियाको लागि म्याद थप गराएको उनले वताए ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २ वर्ष कैद

वीरगंज । मधेश प्रदेशकाे सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवलाई साढे २ वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै कैद सजाय गर्नुका साथै २५ हजार रुपियाँ जरिवाना गर्ने, ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिराउने र १ हजार रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको छ । बकपत्र गर्न नआएकोमा अदालतले पीडितलाई ७ दिन कैद सजाय समेत गरेको छ ।

बालिकालाई ०७६ वैशाख २१ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितकी फुपुले जिल्ला प्रहरी कार्यालयमा वैशाख २२ गते उजुरी दिएका थिए । भारत घर भएकी पीडित बालिका फुपुको घरमा बस्दै आएकी थिइन् । बलात्कारको घटना थाहा पाएपछि बालिकाको फुपाजुका बुबाले आरोपितलाई नियन्त्रणमा लिई राती बाँधेर राखेका थिए ।

वैशाख २२ गते बसेको गाउँलेहरुको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार भए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बैशाख २२ गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ वैशाख २३ गते उजुरी दर्ता गर्‍यो । जिल्ला प्रहरी कार्यालयले ०७७ वैशाख १६ गते अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासको आदेशमा ०८० वैशाख १९ गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

वीरगंजबाट स्रोत नखुलेको रु १० लाखसहित एक भारतीय पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडबाट पूर्वी चम्पारण रक्सौल -७ अरुवाटोल बस्ने बर्ष २३ को उमेश यादवलाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर०५एआर ८१०१ नम्बरको मोटर साइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँ फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी संगम श्रेष्ठले वताए ।

पक्राउ परेका यादवलाई फेला परेका रुपैयासहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

नृसिंह माविका विद्यार्थीमाथि चक्कु प्रहार, आराेपित पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १४ पिपरास्थि नृरसिंह माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि चक्कु प्रहार भएकाे छ ।

कक्षा १० मा अध्ययनरत १६ बर्षिय महम्मद फिरोज आलममाथि साेही विद्यालयमा अध्ययनरत १५ बर्षिय अनुराग यादवले चक्कु प्रहार गरेकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले वताए ।

स्कुलमा छुटी भएपछि घर जाने क्रममा वीरगंजकाे लिंक राेडस्थित मंगलबार विहान ११ बजेकाे करिबमा अनुरागले फिराेजमाथि चक्कु प्रहार गरि घाइते बनाएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. १ स्थायी घर भएका घाइते फिराेजकाे वीरगंजस्थित तराई अस्पतालमा उपचार भइरहेकाे छ । उनी वीरगंजमा श्रीपुरमा बस्दै आएका छन् । चक्कु प्रहार गर्ने अनुराग सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थायी घर हाे भने उनी वीरगंजकाे राधेमाई बस्दै आएका छन् । 

पुरानो रिसइवीका कारण अनुरागले आलममाथि छुरा प्रहार गरेको प्रहरीले जनाएकाे छ । दुबै जना बिच पहिलादेखि नै विवाद हुँदै आएकाे थियाे । घटना बारे थप अनुसन्धान भइरहेकाे इन्सपेक्टर थिङले वताए ।

पूर्णिमाको अवसरमा मुसहर्वामा अन्तरराज्यीय कुस्ती

वीरगंज । कार्तिक पूर्णिमाको अवसरमा भेलाही पञ्चायतको मुसहर्वामा रहेको गड नदीको उत्वाहनी किनारमा विशाल अन्तरराज्यीय कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ ।‍ जसमा यूपी, बिहार, दिल्ली, हरियाणा, पञ्जाब र नेपालका धेरै प्रसिद्ध पहलवानहरुले भाग लिएका थिए ।

दंगलको उद्घाटन प्रमुख अतिथि एमएलसी खालिद अनवर, जेडियु जिल्ला महासचिव तथा दंगल आयोजक कपिलदेव प्रसाद, एनयुजेआई उप-विभागीय संयोजक विपिन कुशवाहा, जेडियु प्रदेश महासचिव दीपक पटेल,  वीरेन्द्र राई पटेलले गरेका थिए ।

साे अवसरमा समितिका सदस्य कुणाल पटेल, रामगढवा, प्रमुख पति श्रीकान्त दुबे, मेला समितिका अध्यक्ष सुमन पटेल, जिल्ला अध्यक्ष (शिक्षा कक्ष) रवीन्द्र पटेल, राजद नेता र भावी लोक सभा प्रत्यासी राजन जायसवाल, गोल्डेन सिटी निदेशक म. सद्दाम हुसैन, एनजीएम स्कूलकाे निर्देशक महमद अखलाख अहमद, सरपंच पति रामविनय सिंह, राजद प्रखंड अध्यक्ष सैफुल आजम, राजद नेता सुनील कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कुस्ती प्रतियाेगितामा साहदुल राजा पहलवान, सञ्जय पहलवान, बलिराम यादव पहलवान, चन्द्रिका पहलवान, राहुल पहलवान, ब्रजेश पहलवान, पुनीलाल पहलवान, अंकित पहलवान, मनिष पहलवान, रंगलाल पहलवान लगायत करिब चार दर्जन पहलवानले भाग लिएकाे थिए ।

दंगलमा रेफ्रीको भूमिका हिरा पहलवान र नगिना पहलवानले निभाएका थिए भने कार्यक्रमको अध्यक्षता मुखिया सुमन पटेल र संयोजन विनय पटेल र अनिल पटेलले गरेका थिए ।

धाेबिनीमा कक्षा ११ का विद्यार्थीहरुलाई विद्यालय पाेशाक वितरण

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मिया माद्यमिक विद्यालय धोबिनीकाे कक्षा ११ मा अध्ययनरत छात्र/छात्रालाई विद्यालय पाेशाक वितरण गरिएकाे छ ।

धाेबिनी गाउँपालिकाे वडा स्तरिय याेजनाबाट मंगलबार एक कार्यक्रमकाे विच कक्षा ११ का सम्पूर्ण छात्र/छात्रालाई कोट, पाईन्ट, सर्ट र टाई गरि पोशाक सेट वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए ।

वडाध्यक्ष मनाैवर अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पु पटेल, वडा सचिव जितेन्द्र प्रसाद चाैहान, शिक्षक सुनिल मुखिया, सुबाष चाैधरी, गफुर मियाँ अन्सारी, हिरालाल साह, अशाेक पटेल, सुरज प्रसाद पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैबिच मंगलबार नै विद्यालय स्नातक तह संचालनकाे लागि आर्थिक स्राेत जुटाउन गाउँपालिका तथा अन्य निकायसंग समन्वय गर्न अभिभावक, शिक्षा प्रेमी, राजनीतिकर्मी, शिक्षकहरु बिच अन्तरक्रिया तथा छलफल समेत गरिएकाे प्रधानाध्यापक रामले वताए ।

सामाजिक सुरक्षा कोषद्वारा वीरगंजका मेयर सिंह सम्मानित

वीरगंज । नेपाल सरकारकाे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका सामाजिक सुरक्षा कोषले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सम्मान गरेकाे छ ।

देशका महानगरहरूमध्ये वीरगंज महानगरपालिकाले सबैभन्दा पहिला अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सम्झौता गरेकोले काेषले छैठाैं समाजिक सुरक्षा दिवस २०८० काे अवसरमा साेमबार मेयर सिंहलाई सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरपालिकाका मेयर सिंहलाई खादा ओढाएर प्रशंसा पत्रले सम्मान गरेका हुन् ।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष र वीरगंज महानगरपालिका बिच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन महानगर मध्ये वीरगंजले पहिलो सम्झौता गरेसँगै सम्मान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले जानकारी दिए । 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा सुरक्षामन्त्री भण्डारी, आई.एल.ओ.का प्रतिनिधि, जि.आइ.जेडका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

नेपालको संविधानको धारा ३४ ले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने संवैधानिक प्रावधानको कार्यान्वयनका लागि वीरगंज महानगरपालिकाले गरेको प्रयास कोसेढुंगा सावित हुने विश्वास आफूले लिएको सम्मान कार्यक्रममा मेयर सिंहले बताए । 

उनले महानगर क्षेत्र भित्रका सबै श्रमिक तथा रोजगारदाताले श्रम कानुनको पूर्ण परिपालना गरि श्रम बजारलाई आकर्षक, सुरक्षित र उत्पादकत्वलाई टेवा दिने क्षेत्रको रुपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको घोषणा गरे  

मेयर सिंहले वीरगंज महानगर क्षेत्र भित्रका अनौपचारिक क्षेत्र कृषि, निर्माण, यातायात र घरेलु कामदारमा काम गर्ने श्रमिकलाई महानगरपालिकाद्वारा सह योगदान समेत गरि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको सुरुवात यो सम्झौताले गरेको जानकारी दिए ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई  यस योजनामा आबद्ध गराउन बजेट व्यवस्थापन र श्रमिक छनौटको कार्य चाडै अगाडि बढाउने प्रतिबद्धता समेत मेयर सिंहले व्यक्त गरे ।

मुलुकको निकासका लागि वर्तमान सरकार विघटन गर्नुपर्छ : प्रभु साह

वीरगंज । आज जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् । मुलुकलाई सङ्कटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको भनाई छ ।

सोमबार काठमाडौँमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले बिचौलिया र दलालहरूको हिस्साको रूपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहोर्‍याए । उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे । 

साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको उल्लेख गर्दै त्यस विरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए । उनले भने, ‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुस खोरी चरम सीमामा छ । यसलाई रोक्न सबैको ध्यान जाओस् । खास गरी सरकार, जसले मिटरब्याजीमार्फत गरिबलाई न्याय दिन्छु भनेको थियो । आज ती कुरा हावादारी जस्तो भयो । गरिबले न्याय पाएनन् । अन्ततः दलालले लाभ पाए । घुसखोर कर्मचारीले लाभ पाए । र, आज एउटा खेल तमासा सिडिओ कार्यालयहरूमा भइराखेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । म विशेष आग्रह गर्न चाहन्छु ।’

देशमा महँगी जस्तो ठूलो समस्या हुँदा समेत सरकारले केही गर्न नसकेको उनले आरोप लगाए । ‘महँगी ठूलो समस्या भएको छ । सरकार निकम्मा देखिएको छ । मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ । र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ । तपाईँहरूलाई थाहा छ–नेपालमा चिनीको हाहाकार छ । एक दिन, दुई दिन होइन, महिनौँदेखि यो समस्या छ । तर पनि पर्याप्त चिनी मान्छेले पाउन सकेका छैनन् । तपाईँमा ८० रुपैयाँ केजीमा पाइने चिनी काठमाडौँमा १६० रुपैयाँ पर्छ,’ उनले भने, ‘यो भन्दा पीडादायी के हुन्छ ? सरकारले यो रेट रोक्नै नसक्ने हो र । के सरकारले आपूर्ति व्यवस्था मिलाउनै नसक्ने हो र ? जिरा ५ सय किलोको आज १५ सय पर्छ । यसलाई नियन्त्रण गर्न यदि सक्दैन भने, जनतालाई सहज ढङ्गले सेवा दिन सक्दैन भने छोड्नु पर्छ । सक्छौँ भने परिणाम देखाऊ सरकार ।’

उनले सरकार बिचौलिया र दलालहरूको हिस्सा बनिसकेको बताए । ‘यसै हिसाबले सरकार चलिराख्यो भने नेपाली जनताको भविष्य छैन । यतातिर सबैको ध्यान जाओस् भन्ने चाहन्छु । हाम्रो यो बैठकले यसलाई सही निष्कर्ष दिन सक्नु पर्छ । हामीले भनेका छौँ–देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौँ । राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ,’ उनले थपे ।

कार्यक्रममा साहले राजनीतिक दलहरूले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।