वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।
भन्सार विभागले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर, कार्यालयले लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यास आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाती आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
यद्यपि, चालु आर्थिक वर्षको असोज मसान्तसम्मको समग्र राजस्व संकलन भने लक्ष्यभन्दा कम रहेको छ। कार्यालयले असोज मसान्तसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६९ अर्ब १३ करोड रुपैयाँ मात्रै संकलन गरेको छ। यो निर्धारित लक्ष्यभन्दा एक अर्ब ४३ करोड रुपैयाँ कम हो।
चाडपर्वका बेला आयातमा भएको वृद्धिले असोज महिनाको राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।








