काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गरिने जनाएको छ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सरकारले उपलब्ध गराउने २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल प्राप्त भइसकेको छ। बाँकी १५ हजार क्विन्टल चिनी पनि मागअनुसार ल्याउने तयारी गरिएको छ।
कम्पनीले हाल सरकारी चिनी काठमाडौँ उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री गर्दै आएको छ। उपभोक्तालाई चिनी सहज रूपमा उपलब्ध गराउन खुद्रा पसल, डिलर, सहकारी तथा साझेदार संस्थामार्फत वितरणको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
यसैबीच, कम्पनीले गत साउन २८ गतेदेखि ४४ जिल्लाका १९३ स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ। ती पसलबाट विभिन्न खाद्यवस्तुमा छुट उपलब्ध गराइए पनि चिनीमा दिइँदै आएको छुट भने हाललाई बन्द गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो।
चाडपर्वका बेला चिनीको माग बढ्ने भएकाले बजारमा आपूर्ति सहज बनाउन कम्पनीले मौज्दात व्यवस्थापन तथा थप आपूर्तिको तयारी गरेको हो। आवश्यकताअनुसार थप चिनी ल्याएर उपभोक्तालाई उपलब्ध गराइने कम्पनीले जनाएको छ।








