सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार थारु बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न भन्दै जंगलतर्फ गएका थिए। साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन तथा आफन्तले उनको खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा बिहीबार बिहान सब–डिभिजन वन कार्यालय, बसन्तपुरबाट करिब ५०० मिटरभित्रको जंगलमा थारुको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार थारुमाथि बाघले आक्रमण गरेको र सोही क्रममा उनको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








