सेढवा । जिराभवानी गाउँपालिकास्थित जिराभवानी मन्दिरमा लागेको महाशिवरात्रि मेलामा ठेकेदारले तोकिएको दररेटभन्दा दोब्बर–तेब्बर कर असुली गरेको भन्दै व्यापारीहरूले गुनासो गरेका छन्।

व्यापारीहरूले बताएका अनुसार, गाउँपालिका र ठेकेदार प्रेम ख्वास थारुबीच भएको सम्झौताअनुसार जग्गा वितरणको लागि प्रतिवर्ग फिट १० रुपैयाँ लिनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ६० रुपैयाँसम्म असुल गरिएको छ।
जिराभवानी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष राजेश्वर दास थारुले भने, पालिकाले मोटरसाइकल पार्किङका लागि २० रुपैयाँ प्रति मोटरसाइकल तोकेको भए पनि स्टेन्डमा ५० रुपैयाँ असुल भइरहेको जानकारी दिएका छन्। उनले मेला अनुगमन समितिलाई पनि यो विषयमा जानकारी गराए तापनि हालसम्म प्रभावकारी पहल नभएको बताए।
कालिकामाई गाउँपालिकाका बदाम व्यापारी सुरेन्द्र साहले करिब ४० वर्ग फिट क्षेत्रमा बदाम बिक्री गर्दा २ हजार ४ सय रुपैयाँ जग्गा शुल्क तिर्नुपरेको गुनासो गरे। साथै दैनिक बिक्री वापत ५० रुपैयाँ लिने गरिएको उनले बताए।
जिराभवानी गाउँपालिका वडा नं २ का सन्तोष पासवानले माछा बिक्री गर्दा दैनिक ३०० रुपैयाँ कर र आधा किलो माछा ठेकेदारले लिने गरेको आरोप लगाए। जबकि तोकिएको दररेटमा माछा पसलबाट दैनिक ५० रुपैयाँ मात्र लिने उल्लेख छ।
ठेकेदार प्रेम ख्वास थारुले मोटरसाइकल पार्किङमा ५० रुपैयाँ असुली भएको स्वीकार गर्दै, अन्य मेला तथा कार्यक्रमहरूमा पनि सोही दर लाग्ने भएकाले रकम त्यही अनुसार लिएको बताए। जग्गा वितरणमा भने मुख्य सडक र शाखा सडकको आधारमा फरक दर निर्धारण गरिएको उनको भनाइ छ।
जिराभवानी मेला अनुगमन समितिका सचिव ऋषि हाजराले भने, पालिकाले तोकेको दररेटअनुसार मात्र कर उठाउन ठेकेदारलाई मौखिक तथा लिखित निर्देशन दिइएको जानकारी दिएका छन्। उनले आज र भोलि बिहानसम्म कार्यान्वयन नभए कारबाही गरिने चेतावनी पनि दिएका छन्।
यसैबीच, मेलामा कर असुलीसम्बन्धी विवादबारे स्थानीय तह र सम्बन्धित पक्षबीच थप छलफल हुने अपेक्षा गरिएको छ।


