Date
शुक्र, चैत्र १३, २०८२
Fri, March 27, 2026

मुस्कान एक सस्तो औषधि

धेरैजसो मानिसहरू हरेक दिन हजारौँ शब्द बोल्छन्, तर कति पटक साँच्चिकै साँचो मुस्कान बाँड्छन् ? मुस्कान कुनै महँगो उपहार होइन । यसको मूल्य त निःशुल्क छ, तर यसको प्रभाव गहिरो, स्थायी र अकल्पनीय हुन्छ । यसले न त बैंकको खातामा असर पार्छ, न त समयको भारी लाग्छ, तर यो दिनभरि थकित मनलाई एकछिनका लागि उज्यालो पार्न सक्छ । जब शिशु जन्मन्छ, उसको पहिलो अभिव्यक्तिमध्ये एक हो—मुस्कान । त्यो निष्कलंक, निर्दोष मुस्कान जसमा न डर हुन्छ, न बनावट । त्यो मुस्कान हाम्रो अस्तित्वसँग गाँसिएको हुन्छ । समयसँगै हामी व्यस्त, गम्भीर, जिम्मेवारीले भरिएको जीवनको चक्रमा फस्न थाल्छौँ, अनि मुस्कान ओझेल पर्दै जान्छ । तर, हामी किन भुल्दैछौँ कि मुस्कान केवल सामाजिक व्यवहार होइन, एक शक्तिशाली साधन हो—आफ्ना भावना नियन्त्रण गर्न, सम्बन्ध मजबुत बनाउन र जीवनलाई सरल बनाउन ?

- Advertisement -

विज्ञानले पनि आज मुस्कानको महत्त्व प्रमाणित गरिसकेको छ । हाँसोले शरीरमा ‘एन्डोर्फिन’ र ‘सेरोटोनिन’ नामक रसायन उत्पादन गर्छ जसले तनाव घटाउँछ, पीडा सहन सक्ने क्षमता बढाउँछ र मानसिक स्थिति सुधार गर्छ । बेलायतको एक अध्ययन अनुसार, १० मिनेटसम्म हाँस्नुले करिब १० मिनेट दौडजत्तिकै लाभ पु¥याउँछ । अझ चाखलाग्दो कुरा के छ भने, जब हामी जबरजस्ती पनि मुस्कुराउँछौं, तब पनि शरीरले यिनै सकारात्मक रसायन उत्पादन गर्छ—यसको अर्थ, तपाईंको मन नरमाइलो भएपनि तपाईंको अनुहारले तपाईंलाई फेरि रमाइलो बनाउने सन्देश दिन सक्छ ।

हामी प्रायः सुनिरहेका हुन्छौं—‘पहिलो छाप नै अन्तिम छाप हो ।’ त्यो पहिलो छापमा मुस्कानको भूमिका निर्णायक हुन्छ । जब हामी अरूसँग मुस्कुराउँदै कुरा गर्छौं, हामी केवल शब्द आदानप्रदान गरिरहेका हुँदैनौं, हामी विश्वास, आत्मीयता र खुलापन बाँडिरहेका हुन्छौं ।
एक अध्ययन अनुसार, हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरूका मुस्कानले ग्राहक सन्तुष्टि प्रत्यक्ष रूपमा बढाउँछ । यही त हो मुस्कानको सामाजिक शक्ति ।
कसैले ठीक भनेका छन्, “सजिलो बेला मुस्कुराउनु सामान्य हो, कठिन बेला मुस्कुराउनु शक्ति हो ।” समस्यासँग लड्दै मुस्कान कायम राख्नु कुनै बनावटी कुरा होइन; यो तपाईँको आत्मबलको प्रमाण हो । यस्तो मुस्कान आत्मअनुशासन, भावनात्मक स्थिरता र सकारात्मक दृष्टिकोणको उपज हो । त्यसैले मुस्कान तपाईंको भित्री मजबुती पनि हो—बाहिरी संसारलाई देखाउने तपाईंको मौन तर गहिरो भाषा ।

हामी आज जहाँ हेर्छौं, त्यहाँ असहिष्णुता, तनाव, र आपसी दूरी बढ्दो छ । यस्तो बेलामा मुस्कान एउटा सामाजिक आन्दोलन बन्न सक्दछ । जब तपाईं बसमा यात्रामा हुनुहुन्छ, र छेउमा बसेको थाकेको मानिसलाई मुस्कुराएर हेर्नुहुन्छ, त्यो केवल ‘शिष्टता’ होइन, त्यो मानवीयता हो । यसरी मुस्कानले घृणालाई माया, निराशालाई आशा, र दूरीलाई नजिकीतामा बदल्न सक्छ ।

मुस्कुराउँ—किनभने मुस्कानले परिवर्तन ल्याउन सक्छ । मुस्कान केवल अनुहारको भाव होइन, यो आत्माको भाषा हो । जब तपाईं मुस्कुराउनुहुन्छ, तपाईं आफ्नो वरिपरिका मानिसलाई पनि मुस्कुराउने अनुमति दिनुहुन्छ । त्यसैले, चाहे जीवनमा आँखा रसाएका क्षणहरू किन नआउन, मुस्कानलाई कहिल्यै हराउन नदिनुस् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अमरेश सिंहद्वारा उद्योगमन्त्री पद अस्वीकार, मन्त्रालय प्रधानमन्त्री बालेनसँगै

काठमाडौँ । सर्लाही–४ बाट निर्वाचित नेता अमरेश कुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई उक्त...

सहोदरा माई मन्दिरमा मेला सुरु, नेपाली दहित परिवारद्वारा पहिलो पूजा र बलि

सेढवा । छिमेकी भारत को बिहारस्थित ऐतिहासिक आदिशक्ति सहोदरा माई मन्दिरमा नेपाली दहित परिवारले बलि चढाएसँगै विधिवत रूपमा मेला सुरु भएको छ। पश्चिमी चम्पारण जिल्लाको...

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै सपथ लिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार...