Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

वीरगंज झिलीमिली उज्यालो सहर बन्दै

वीरगंज । वीरगंज महानगरपालिकाका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगंज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो ।

- Advertisement -

“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”, वीरगञ्ज महानगरपालिका–६ मीनाबजारका विजय साहले भन्नुभयो, “तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, यसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बनेको उहाँको भनाइ थियो ।

‘‘पहिला–पहिला सडक छेउका अधिकांश पोलमा बत्ती थिएनन्”, वीरगञ्ज महानगरपालिका–११ का सन्तोष साहले भन्नुभयो, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अहिले निर्धक्क भएर २४सैँ घण्टा हिँड्दा पनि कुनै समस्या छैन, उहाँको कथन थियो ।

“विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हँुदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, साहले अगाडि थप्दै भन्नुभयो, “अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वात्तै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” यसबाहेक पोल–पोलको बत्तीले नगर क्षेत्र नै झिलीमिली बनेको उहाँको भनाइ थियो ।

महानगरपालिकाले एकपछि अर्काे लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै वीरगञ्ज महानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयहरू बताउँछन् । महानगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० देखि उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा गल्लीका पोल–पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगञ्ज महानगरपालिकाका विद्युत् शाखाका प्रमुख इञ्जीनियर राजीवकुमार उपाध्यायले जानकारी दिनुभयो ।

त्यही योजनाअनुसार महानगरपालिकाको वडा नं १ देखि ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्ट्रिटलाइट जडान गरिसकेको र बाँकीमा जडानकार्य भइरहेको इञ्जीनियर उपाध्यायले बताउनुभयो ।

“महानगर क्षेत्रमा उज्यालो वीरगञ्ज अभियान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म मुख्य सडक तथा गल्लीमा ठूला–ठूला स्ट्रिटलाइट जडान गरेका छौँ, बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ”, उहाँको भनाइ थियो ।

यसका साथै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्तीसमेत जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडा नगरिएको महानगरपालिकाको विद्युत् शाखाका इञ्जीनियर अवधेशकुमार यादवले जानकारी दिनुभयो ।

विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगर क्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

“आफू निर्वाचित भएदेखि महानगरपालिकालाई सफा, सन्दर र हरियाली नमूना महानगर बनाउने लक्ष्यका साथ अघि बढाएको छु”, नगरप्रमुख सिंहले भन्नुभयो, “सडकका फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरको सौन्दर्यीकरण, अतिक्रमित जग्गा फिर्ता, फराकिलो बाटो निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”

आर्थिक राजधानीकै रूपमा परिचिति वीरगञ्ज महानगरलाई पर्यटकीय नगरीका रूपमा समेत विकास गर्न यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरूको जीर्णेद्धार तथा रङरोगनका कार्यलाई समेत प्राथमिकता दिएको महानगर प्रमुख सिंहको कथन छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको महानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । रासस

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...