Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगलाई कडा कारवाही गर्ने मेयर सिंहको चेतावनी

spot_img
spot_img

वीरगंज । पटकपटकको निर्देशनलाई पनि अवज्ञा गर्दै वीरगंजका केही उद्योगहरुले प्रशोधन बिना नै प्रदुषित पानी सिर्सिया नदिमा मिसाइरहेको पाइएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ परवानीपुरस्थित श्री सिद्धी टेक्सटायल्स प्रा.ली., अर्निका प्रोसेसिङ् उद्योग प्रा.ली., पन्ना पेपर उद्योग प्रा.ली. ग्लोबल लेदर उद्योग प्रालि, मोरियम लेदर उद्योग प्रालि लगायतले प्रशोधन नै नगरी प्रदुषित पानी नदिमा मिसाउने गरेको पाइएको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा बुधवार अनुगमन टोली पुग्दा पनि उद्योगहरुले प्रदुषित पानी प्रशोधन बिना नदिमा मिसाएको पाइएको हो । यसअघि उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा पटकपटक अनुगमन गर्नुका साथै महानगरले प्रशोधन गरेर मात्रै नदिमा मिसाउन पत्राचार गर्दासमेत उद्योगहरुले बेवास्ता गरेको महानगर प्रमुख सिंहले बताए ।

उनले भने, ‘महानगरले जसरी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाएरै छाड्छ, अहिले प्रदुषित गराउने उद्योगहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुका साथै कडा रुपमा उत्रिनेमा हामी पछाडी हट्ने छैनौँ ।’

पटकपटक आग्रह गर्दा पनि अटेर गर्नुका साथै पत्राचारलाई पनि उद्योगहरुले बेवास्ता गरेको महानगर प्रमुख सिंहको भनाई छ ।

उनले भने, ‘उद्योगहरुले पूर्ण रुपमा बदमाशी गरिरहेका छन्, यो कुनै पनि हालतमा सह्य हुँदैन । प्रायः उद्योगले अनुगमन गर्न आउँदा देखाउनका लागि मात्रै प्रशोधन केन्द्र बनाएका छन् । तर प्रशोधन नै नगरी दुषित पानी नदिमा मिसाएर जनताको स्वास्थ्यसँग खेलवाँड गरीरहेका छन् ।’

कुनै पनि उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा यस क्षेत्रका अधिकांश उद्योगले बेवास्ता गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको बुझाई छ । पौडेल भन्छन्, ‘उद्योगहरुको लापरवाही स्पष्ट देखिन्छ, व्यवस्थित तरिकाले प्रशोधन गरेर नदिमा सफा पानी फाल्ने वातावरण बनाउनुपर्छ । तर यहाँ ठीक बिपरित देखियो । नामका लागि मात्रै प्रशोधन केन्द्र बनाए पनि प्रदुषित पानी नै नदिमा मिसाउनु सरासर गलत हो ।’

अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदिमा फाल्दै आएको भेटिएको छ । सिद्धि टेक्सटायल्स उद्योगको प्रदुषित पानी मिसिनुभन्दा माथि सिर्सिया नदिको पानी सफा देख्न सकिन्छ । सिद्धि टेक्सटायल्स उद्योग नै सिर्सिया नदिलाई प्रदुषण बनाउने पहिलो उद्योग हो । त्यसपछि अरु उद्योगको प्रदुषित पानीले नदि प्रदुषण हुँदै आएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल भन्छन्, ‘सिर्सिया नदि वीरगञ्ज शहरकै लाइफलाइन हो, त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै भए पनि महानगरले कारबाही गर्छ, नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब कुनै पनि हालतमा रोकिदैन ।’

अनुगमनलाई निरन्तरता दिनुका साथै नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि कडा कारबाही गरिने पौडेलको भनाई छ ।

सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउने अभियानमा वीरगञ्ज उद्योग वाणिज्य संघले हातेमालो गरीरहेको छ । नदिलाई सफा बनाउने विषयमा संघ पनि गम्भिर रहेको बताउँदै अध्यक्ष अनिल कुमार अग्रवालले यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने आवश्यक्ता औँल्याए ।

अग्रवालले भने, ‘नदिलाई सफा बनाउनु हामी सबैको सरोकारको विषय हो, अहिले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमै समस्याको समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक छ ।’

यसअघि महानगरले नदि प्रदुषण गर्ने ५ वटा उद्योगलाई ३ लाख रुपैयाँका दरले जरिवाना पनि गरेको थियो । ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको हो ।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगञ्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले दुई महिना यता अभियान नै सञ्चालन गरेको छ ।

प्रमुख सिंहसहित प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक मनिषा लौडारी लगायतको अनुगमन टोलीले बुधवार परवानीपुरका ५ वटा उद्योगको अनुगमन गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...