Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई १५ लाख जरीवाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ ।

- Advertisement -

महानगरपालिकाले वीरगन्न्ज– पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो ।

महानगरले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको हो ।

नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । ७ दिनभित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरु विरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेखछ ।

वीरगन्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदुषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए ।

यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैया जरिबाना तिराएको थियो ।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाईरहेको छ ।उक्त अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदिमा फाल्दै आएको भेटिएको थियो ।त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदुषण नगर्न चेतावनी पनि दिएको थियो ।

महानगरले लिखित रुपमै चेतावनी दिदा समेत अटेरी गरि उद्योगका फोहोर र रसयानयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३/३ लाख रुपैयाँको दरले जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ सिर्सिया नदि वीरगन्ज शहरकै लाइफलाइन हो , त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ , नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब रोकिदैन ।

उहाँले अनुगमन जारी रहने र नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताउनुभयो ।

बाराको सीमरा भन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो ।

नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।

सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदि छेउका स्थानीय बताउछन् ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।

रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदि प्रदुषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो ।

समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो । सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एकदशक यता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन्।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...