Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

तारा एअर दुर्घटनामा १६ जनाकाे शव भेटियाे, पानी परेका कारण उद्दारमा समस्या

spot_img
spot_img

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेमा भएको तारा एअर दुर्घटनाको उद्दारमा समस्या भइरहेको सुरक्षाकर्मीले बताएका छन् । 

करिब ५ घण्टा पैदल हिँडेर दुर्घटनास्थल पुगेको सशस्त्र प्रहरी बलको टोली उद्दारमा खटिएको छ । सशस्त्रको २५ जनाको टोली बिहान ५ बजे हिँडेर ११ बजेतिर दुर्घटनास्थल पुगेको थियो ।

सशस्त्रको टोलीसँगै नेपाल आर्मी, नेपाल प्रहरीले शवहरु संकलनको काम गरिरहेको छ । तर मौसम प्रतिकूल हुँदा उद्दारमा समस्या भएको सशस्त्र प्रहरी मुस्ताङका डीएसपी मोहनजंग कार्कीले बताए ।

कार्कीका अनुसार अहिले दुर्घटनास्थल क्षेत्रमा पानी परिहेको छ । बाक्लो हुस्सु लागेको छ । शव संकलनका लागि पुगेको सेनाको हेलिकोप्टरसमेत बस्ने सकेको छैन । अहिले शवहरु संकलन गरेर ‘प्याक’ गर्ने काम भइरहेको डीएसपी कार्कीले बताए ।

मौसम अनकूल भएर हेलिकोप्टर ल्याण्ड भएपछि शव राखेर काठमाडौं पठाइने कार्कीले बताए । घटनास्थलमा पुगेको प्रहरीले घटनास्थल मुचल्का तथा डकुमेन्टेसनको काम गरिरहेको छ ।

 नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी विष्णु केसीले पनि मौसम अनकूल नहुँदा उद्दारमा समस्या आएको बताएका छन् । 

अहिलेसम्म १६ वटा शव संकलन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले बताए । पानी परेका कारण अत्याधिक चिसो भएकाले उद्दारमा केही समस्या भए पनि निरन्तर काम भइरहेको उनको भनाइ छ ।

आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको थियो । आइतबार दिनभर खोज्दासमेत विमान नभेटिएपछि खोजीका कार्यलाई स्थगित गरेर सोमबार बिहानबाटै खोजी कार्य सुरु गरिएको थियो । 

दुर्घटनाग्रस्त अवस्थामा विमान  सानोसरेमा भेटिएको स्थानियले जानकारी गराएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । विमानमा चालक दलका तीन सदस्य, २ जमर्न नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए ।

यसरी भेटियो हराइरहेको ट्विनअटर

पाेखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा यएरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा फेला परेको छ ।

थासाङ गाउँपालिका–३ लेतेका सुमित गौचनले सोमबार बिहान दुर्घटनाग्रस्त विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला पारेका हाे । गौचन अन्य स्थानीयसँगै दुर्घटनाग्रस्त विमान खोज्न निक्लेका थिए ।

अन्य साथीहरु आइतबार राति नै फर्के पनि गौचन यार्सा खोज्न गएका इशान गुरुङसमेतको टोलीसँग बास बसेका थिए । उनै इशान गुरुङले आइतबार विमान आफूहरुकै टाउकोमाथि उडेको र ठोक्किएको आवाज सुनेको तर बाक्लो कुहिरोले नदेखेको भनी प्रहरी प्रशासन र पालिका अध्यक्ष, वडाध्यक्षलाई खबर गरेका थिए ।

सोही आधारमा खोजीलाई मानापाथी हिमालमुनि केन्द्रित गरिएको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए । कोवाङबाट तीन घन्टा माथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा विमान ठोक्किएर क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

पोखराबाट आइतबार बिहान ९ : ५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएको थियो । जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमाल मुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा ठोकिएको थियो ।

पोखरा–जोमसोम उड्ने जहाजहरु म्याग्दी–मुस्ताङ सिमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिब ६ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन् ।

यो विमान बफर जोन क्रसगरी जोमसोम विमानस्थलको टावरमा सम्पर्कमा आएपछि बेपत्ता भएकोले मुस्ताङको लेते, कोवाङ क्षेत्रलाई आधार मानेर खोजी गरिरहेको थियो ।

ट्विनअटर दुर्घटनामा गोरखाका एकै घरका चार जना

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा गोरखाका एकै घरका चार जना परेका छन् । मुक्तिनाथ घुम्न गएका सहिद लखन गाउँपालिका–५ तिनमानेका ५२ वर्षीय गणेशनारायण श्रेष्ठको परिवारका चार जना जहाजमा रहेको खबर पाएपछि गाउँले स्तब्ध छन् ।

श्रेष्ठ श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठ र छोरीहरु २० वर्षीया रविना श्रेष्ठ र २३ वर्षीया रोजिना श्रेष्ठ विमानमा सवार थिए । अध्ययनको सिलसिलामा अमेरिका रहेका छोरीहरु रविना र रोजिना नेपाल आएको बेला गणेशनारायणको परिवार मुक्तिनाथ घुम्नका लागि पुगेका थिए ।

‘हिजो(आइतबार) बिहान जहाज हरायो भनेर सुन्यौँ, केहीबेरमा हाम्रो छिमेकी पनि हुनुहुन्छ भनेपछि स्तब्ध बन्यौँ,’ तिनमानेका विजय पुडासैनीले भने । स्थायी घर तिनमाने रहेका गणेशनारायणका परिवार काठमाडौं बस्थे । ‘वैशाख २२ गते गाउँ आएर फर्कनुभएको थियो, अहिले यस्तो खबर सुन्न पर्‍यो,’ पुडासैनीले भने ।

गणेशनारायण पाँच जनाको परिवार थिए । गणेशनारायणसहित चार जना परिवार विमानमा सवार थिए । अध्ययनको सिलसिलामा अमेरिकामा रहेका छोरा रोशन पनि विमान हराएको खबर सुने लगत्तै नेपाल फर्केको गणेशनारायणका भान्जा नाता पर्ने कृष्ण श्रेष्ठले बताए । ‘मामा मिलनसार हुनुहुन्थ्यो, समाजसेवामा पनि रुचि राख्नुहुन्थ्यो,’ कृष्णले भने,‘३ गते भेट भएको थियो, अहिले यस्तो खबर सुन्नुपर्‍यो ।’

हराइरहेको जहाजमा तिनमानेका चार जना रहेको खबर सुनेलगतै गाउँपालिका अध्यक्ष रमेश थापालगायतका गाउँलेहरु आइतबार नै पोखरा पुगेका थिए । कास्कीका प्रजिअ, प्रहरी प्रमुख लगायतका सरकारी अधिकारीसँग भेटेर हराइरहेको विमानको बारेमा जानकारी लिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

‘जहाज हरायो भनेपछि के भयो कसो भयो भन्ने थियो, आज बिहान दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटियो भनेपछि आधिकारिक भयो,’ थापाले भने । अमेरिकामा रहेका छोरा रोशन नेपाल फर्कंदै गरेको अध्यक्ष थापाले बताए ।

विमान दुर्घटनामा परेकाहरुको शव काठमाडौं लैजाने जानकारी पाएपछि श्रेष्ठका आफन्त र छिमेकी सोमबार पोखराबाट काठमाडौंं गएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...