Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

प्रदेश २ काे नामाकरण सम्बन्धमा ४ वटा प्रस्ताव पेश

वीरगंज । प्रदेश २ को नामकरणको विषयमा सत्ता गठबन्धन दलहरुबीच नै फरकफरक प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सत्तारुढ दलहरु जसपा र माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् भने कांग्रेस र नेकपा (एस)ले फरक फरक नाम प्रस्तुत गरेका छन् ।

- Advertisement -

सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ ।

जसपाका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले नामकरण प्रस्ताव पेस गरेका हुन् । उनकाे प्रस्तावमा लोसपाका तर्फबाट प्रदेश सांसद रानी शर्मा तिवारीले समर्थन गरेकी हुन् । माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साहले नामकरण सम्बन्धी प्रस्ताव पेस गरेका छन् । 

कांग्रेसले ‘मिथिला भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ। कांग्रेसका तर्फबाट सांसद शिवचन्द्र चौधरीले प्रस्ताव पेस गरेका हुन् ।  कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश प्रस्ताव पेस गरेका छन् । 

त्यस्तै अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको हो । एकीकृत समाजवादी पार्टीका तर्फबाट कानुन तथा प्रदेश मामिलामन्त्रीले सो प्रस्ताव पेस गरेका छन् । 

प्रतिपक्षि एमालेका ७ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव आज पेस हुन सकेन । सभामुख सरोज यादवले शारदा थापाले नामकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् । जसमा जनता समाजवादी(जसपा) ३९ सिटसहित ठूलो दलको रुपमा कायम छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा (एस) का १३, एमालेका ८, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ ।

१०७ सदस्सीय प्रदेश सभामा दुई तिहाइ संख्या पुर्‍याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । हाल सत्तारुढ गठबन्धनभित्रै फरक-फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउनका लागि कठिनाइ देखिएको छ ।

हाल मधेस प्रदेशको पक्षमा उभिएका जसपा,लोसपा र माओवादी केन्द्रको कूल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरुलाई थप ९ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा(एस) दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेस गरेका छन् ।

यदि कांग्रेस र नेकपा(एस)ले आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउनका लागि जसपा,लोसपा,माओवादी केन्द्र वा एमालेको समर्थन जुटाउनुपर्ने हुन्छ । तर, यी दुवै दललाई ठूलो संख्या आवश्यक पर्ने भएकाले सहमति जुटाउन कठिनाई हुने देखिन्छ ।

नामकरणका लागि पेस भएका प्रस्तावहरूमध्ये कुनै एकको पक्षमा दुई तिहाइ पुर्‍याउनुपर्दा चारवटा दलहरु मिल्नुपर्ने देखिन्छ । तर, जसपा आफ्नै अडानमा कायम रहे प्रदेशका अरु सबै दल मिले पनि दुई तिहाइ पुग्‍ने देखिन्न ।

यसअघि करिब डेढ वर्षअघि पनि प्रदेश सभाको नामकरणका लागि भएको मतदानमा दुई तिहाइ बहमुत नपुगेपछि प्रस्तावहरु फेल भएकाे थियाे । बिहीबार प्रस्ताव गरिएका नामहरुमा पनि दलहरुबीच सहमति नहुँदा सबै प्रस्तावहरू अस्वीकृत हुने खालको अवस्था देखा परेको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...