Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

पश्चिमी नयून चापीय प्रणाली र हिउँदे बर्षा

spot_img
spot_img

प्राचीन कालदेखि विश्व समुदायले प्रकृतिमा रहेका विभिन्न सजीव र निर्जिव वस्तुहरुसंग निरन्तर कृया प्रतिकृया गरिरहेको हुन्छ । हाम्रो वरपर रहेका हावापानी, वनजंगल, बोटबिरुवा, माटो, जीवजन्तु, धर्म–संस्कृति, भेषभूषा, चाडपर्व, रहन–सहन, बोलीचाली, सामाजिक रीतिरिवाज, मठमन्दिर लगायत जैविक र भौतिक वस्तुहरुको समष्टि रुप वातावरण हो जुन दुई शब्दहरु वात र आवरण मिलेर बनेको छ । वात भन्नाले वायु र आवरण भन्नाले वायुले ढाकेको क्षेत्रलाई बुझिन्छ । समुन्द्रि चक्रवात, हुरिकेन, ट्रोनाडो, बाढी, भूस्खलन, पहिरो, खडेरी, हिमपात, अतिवृष्टि, लू, शितलहर, मेघगर्जन सहितको हुरिवतास जस्ता विभिन्न वायुमण्डलीय चरम मौसमी घटनाहरु श्रृजना हुनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सबभन्दा बढि भूमिका ‘वायु वा वायुराशि’ कै हुन्छ ।

नेपाल सरकार उर्जा जलस्राेत तथा सिँचाई मन्त्रालय जल तथा माैसम विज्ञान विभागकाे आधिकारिक निकाय माैसम पूर्वानूमान महाशाखाले हरेक दिन जारी गर्ने बिशेष माैसम बुलेटिनलाई आधार मानेर विभिन्न समाजिक संजालले नेपालमा प्रबेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरी कै माैसममा आएकाे बदलावलाई हिउँदे याममा प्रमुख शिर्षककाे रुपमा समाचार बनाई प्रसारण गरिरहेका हुन्छन् । तसर्थ पश्चिमी न्यून चापीय प्रणाली के हाे र कसरी उत्पन्न हुन्छ भने बिषयमा सबैकाे मनमा जिज्ञासा आउने स्वाभाविकै हाे ।

वास्तवमा पश्चिमी न्यून चापीय प्रणाली अर्थात वेस्टर्न डिस्टर्बेन्स प्रायः हिउँदको याममा बाह्य ट्रोपिकल चक्रवातको रुपमा भूमध्यसागरमा जन्म लिई आउने एक प्रकारको आँधी तूफान हो जुन वायुमण्डलको माथिल्लो तहमा भूमध्यसागर, आन्ध्र महासागर र कैस्पियन सागरको केही भागबाट जलवाष्पयुक्त हावा लिएर अफगानिस्तान, पाकिस्तान हुँदै भारतीय उपमहाद्विपको उत्तर–पश्चिम क्षेत्र लगायत नेपालमा हिउँदे झरी वा वर्षा गराउँछ । यो प्रणाली पश्चिमी जेट स्ट्रीम द्वारा भूमध्यसागरीय प्रदेशबाट प्रवेश गर्दछ । जलवायु विज्ञान अनुसार– वायुमण्डलको सबभन्दा तल्लो तह निम्नमण्डलको उच्च सीमा ट्रोपोपाँज र समताप मण्डलमा सयौं किलोमीटरको चौडाइमा करिब ७.५ देखि १४ किलोमीटर को उचाईमा पश्चिमदेखि पूर्व दिशामा अत्यधिक तिब्र गतिले प्रवाहित हुने वायुधारालाई जेट स्ट्रीम भनिन्छ ।

दोस्रो विश्व युद्वको बेला अमेरिकी बमवार्षक जेट विमान जापानतिर उडान भर्दा (पूर्वदेखि पश्चिम) विपरीत वायुको सामना गर्नुपथ्र्याे र विमानको गतिमा कमी हुन्थ्यो । तर यसको ठीक विपरीत फर्किदा –पश्चिमदेखि पूर्व) विमान को गति अधिक हुन्थ्यो । पछि अध्ययन अनुसन्धान गरि त्यस वायुधारा लाई जेट स्ट्रीम नामांकरण गरियो । सन् १९४९ मा यसलाई विश्व जलवायुसँग जोडिएको देखिन्छ । यसरी पश्चिमी जेट स्ट्रीम (२० – ३५) डिग्री उत्तरीअक्षांशको सम्बन्ध सुख्खा, शान्त तथा शुष्क हावासँग हुन्छ र यसले हिउँदको बेला पश्चिमी न्युन चापीय प्रणाली लाई आंशिक वर्षाको लागि उत्तरदायी बनाउँछ । यो एउटा वायुमण्डलीय राजमार्ग हो । संसारभरि प्रत्येक वर्षमा लगभग ७० देखि ९० वटा चक्रवाती सिस्टम भौगोलिक घटनाको रुपमा विकसित हुन्छन् ।

उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य पूर्वकोे बीचमा अवस्थित भूमध्यसागर पृथ्वीको एक विशाल सागर हो जसको क्षेत्रफल २५ लाख वर्ग किलोमीटर रहेको छ । सन् १८६८ मा स्वेज नहरले लाल सागर संग भूमध्यसागरलाई जोडेको कारण यस सागरलाई अन्तर्राष्ट्रिय व्यापारिक दृष्टिबाट झन् ठूलो मह्त्व दिइएको देखिन्छ । यस सागरको पश्चिमी भागको जलीय सतहको तापक्रम लगभग ११.७ डिग्री सेल्सियस तथा पूर्वी भागको तापक्रम माघ÷फाल्गुन तिर १७ डिग्री सेल्सियस र श्रावण÷भदौ तिर लगभग २७ डिग्री सेल्सियस को बीचमा रहन्छ । सातमहादेशमध्ये विश्वको सबभन्दा ठूलो महादेश “एशिया” को मध्य भागमा अवस्थित कैस्पियन सागर क्षेत्रफलको हिसाबले विश्वको सबभन्दा ठूलो जलाशय हो । जसको क्षेत्रफल ४,३०,००० वर्ग किलोमिटर र आयतन ७८,२०० घन किलोमिटर रहेको छ । यस सागरको कुनै बर्हिगमन नरहेको तथा वाष्पिकरण माध्यमद्वारा मात्र पानी बाहिर जाने भएको हुँदा वेस्टर्न डिस्टर्बेन्स प्रकृयामा यसको महत्वपूर्ण भूमिका रहेको अनुसन्धान कर्ताहरुको भनाई छ । ऐतिहासिक रुपमा यो सागर पनि भूमध्य सागर सँग जोडिएको मानिन्छ ।जाडो याममा युक्रेन र त्यस आसपासको क्षेत्रमा एक किसिमको उच्च चापीय प्रणाली को विकास भएको हुन्छ जसको कारण ध्रुवीय क्षेत्रबाट चिसो हावा तुलनात्मक रुपमा जलवाष्पयुक्त (आद्रता) तातो हावा भएको क्षेत्रतिर प्रवाह हुन्छ ।

फलस्वरुप माथिल्लो वायुमण्डलमा चक्रवात निर्माण (साइक्लोजेनेसिस) को लागि अनुकुल स्थिति श्रृजना हुन्छ र यसको कारण पश्चिमदेखि पूर्वतिर चल्ने एक बाह्य ट्रोपिकल डिप्रेशनको उत्पत्तिमा मद्दत पुग्दछ । विस्तारै विस्तारै यो डिप्रेशन अर्थात न्यूनचापीय प्रणाली पश्चिमी तुफानको रुपमा भूमध्य सागरबाट पश्चिमी वायुको मद्दतले कालो सागर र कैस्पियन सागरबाट आद्र्रयुक्त हावा इरान, अफगानिस्तान र पाकिस्तानको मध्य पूर्व हुँदै उत्तर–पश्चिम भारत लगायत नेपालमा प्रवेश गर्दछ ।

गर्मी महिनामा आउने दक्षिण्ी मनसुनी वायु र वेस्टर्न डिस्टरवेन्स सँग कुनै सम्बन्ध हुँदैन । मनसुनी वायुको कारणले हुने वर्षा विश्वको तेश्रो ठूलो महासागर ‘हिन्द महासागर’बाट आउँछ र यसको प्रवाह वायुमण्डलको तल्लो तहमा हुन्छ । वेस्टर्न डिस्टरवेन्सलाई गाउँबस्तीका किसानहरुले गैर मनसुनी वर्षा अर्थात बेमौसमी वर्षा भन्ने गर्दछन् । यति मात्र नभई गर्मी याममा तापक्रम वृद्धिको कारण हावा ताते भई माथि उडेर जान्छ जसको कारण जमिनको वायुको चाप न्यून हुन्छ तर ठीक यसको विपरित जाडो महिनामा हावा (वायु) माथि नउडेको कारण वायुको चाप अधिक रहन्छ । त्यसकारण हिउँदको समयमा मात्र प्रायजसो “वेस्टर्न डिस्टरबेन्स” ले आफ्नो प्रभाव देखाउँछ । साथ–साथै विभिन्न अध्ययन र अनुसन्धान अनुसार यदि वेस्टर्न डिस्टरबेन्स प्रणाली मनसुनको आगमनभन्दा पहिले देखि उत्तर–पश्चिम भारत वा नेपालतिर घुमिरहेको छ भने त्यसबेला मनसुनले आफ्नो समय भन्दा अगाडी नै आएको संकेत दिन्छ ।

अतः समग्रमा भन्नु पर्दा पश्चिमी न्यून चापीय प्रणालीले नेपाली अर्थतन्त्रमा तथा खाद्य सुरक्षामा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । यसको कारणले हुने वर्षा वा हिमपात हिमाली भेगमा हुने स्याउ, सिमी तथा तराई क्षेत्रमा हुने गहुँ, चना, मटर, मसुरो आदिको लागि एकदमै लाभदायक हुन्छ । हिमाली क्षेत्रमा हिउँ पर्दा देश–विदेशका पर्यटकहरुको संख्यामा वृद्धि हुनु, माटोको उर्वराशक्तिमा वृद्धि हुनु को साथै तराई भेगमा लगाईएको हिउँदे वालीनालीलाई चिसो र तुषारोबाट बचाउँछ । कुनै बेला यो प्रणाली एकदम शक्तिशाली भई अतिवृष्टि वा मेघगर्जन सहितको असिना पानी पर्दा स–साना खोलामा बाढी आउने तथा भू–क्षय, पहिरोको सम्भावना बढ्न गई बालीनाली उत्पादनमा ह्रास आउन सक्छ । मौसम विज्ञानको अनुसार, ‘शीतकालीन समयमा रातीको तापक्रममा वृद्धि हुनु पश्चिमी न्यून चापीय प्रणाली वा वेस्टर्न डिस्टरर्बेस’ आउने पूर्व संकेत हुँदा हरेक आम नागरिकले समय मै सचेत र सजग हुन मौसम पूर्वानुमान महाशाखा को वेभ पेज www.mfd.gov.np सँग जोडिनु हामी सबै नेपालीको कर्तब्य हो । (लेखक अखिलेश प्रसाद चौरसिया सहायक मौसमविद् हुन्)

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...