बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
भारतको नायकटोला गाउँनजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
एसएसबीका अनुसार नेपालबाट साइकलमा सामान बोकेर भारत प्रवेश गरेका उनीहरू पुनः नेपालतर्फ फर्किने क्रममा निगरानीमा परेका थिए। शंकास्पद गतिविधि देखिएपछि टोलीले घेराबन्दी गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
तलासी गर्दा ६ वटा साइकलमा लोड गरिएको २४ बोरा चकलेट बरामद भएको एसएसबीले जनाएको छ। बरामद चकलेटको कुल तौल ९६० किलो रहेको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।
एसएसबीका अनुसार उनीहरू भारतबाट अवैध रूपमा नेपालतर्फ चकलेट लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरू, बरामद चकलेट र साइकललाई थप कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप कडाइ गरिएको एसएसबीले जनाएको छ।








