वीरगंज । नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटीको आयोजनामा पालिका-स्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिका कमिटी अध्यक्ष शिवनारायण महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा सहभागी हुनुभएको थियो।

कार्यक्रममा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, सखुवा प्रसौनी गाउँपालिका प्रमुख तथा युवा नेता जसवंत यादव, एमाले नेतृ फुलमती चौधरी, बाशुदेव थारू लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका विद्यमान समस्या औँल्याउँदै समाधानमुखी योजना र विकासको स्पष्ट भिजन प्रस्तुत गर्नुभयो। उहाँले आफ्नो नेतृत्वमा विकास, परिवर्तन र जवाफदेही राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले युवा उम्मेदवार पाण्डेलाई पूर्ण समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयी हुने शुभकामना व्यक्त गरे। साथै, आउँदो शनिबार बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई सक्रिय रूपमा लाग्न आह्वान गरिएको छ।


