वीरगंज। पर्साको पकाहामैनपुर गाउँ पालिकाका अध्यक्ष विजय कुमार चौरसियाले फेरी निषेधाज्ञाको उल्लंघन गरेका छन् ।
कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि अहिले पर्सा जिल्लाभरी असार ६ गतेसम्म निषेधाज्ञा कायम छ ।

निषेधाज्ञाको समयमा भेला, सभा तथा कुनैपनि कार्यक्रम गर्न रोक लगाइएको छ । तर, पकाहामैनपुर गाउँपालिकाले भने दोश्रो पटक निषेधाज्ञाको उल्लंघन गरेको छ । यसअघि पनि गाउँपालिकाले निषेधाज्ञाकै समयमा छैठौ गाउँसभाको आयोजना गरेको थियो ।
निषेधाज्ञाको उल्लंघन गरेर गाउँसभा गरेको भन्दै अध्यक्ष विजय कुमार चौरसियाको व्यापक आलोचना भएको छ । उनले कोरोना संक्रमण नियन्त्रणका लागि खर्च अनुमोदन गर्नका लागि गरेको सभामा स्वास्थ्य मापदण्डको समेत पाल्ना नगरेको पाईएको छ ।
सम्पन्न सभाको सार्वजनिक तस्बीरहरुमा केहीले बिना मास्कको सहभागि भएको देखिन्छ । निषेधज्ञाको समयमा सामाजिक कार्य विवाह, मृत्यु संस्कार लगायतका काममा मात्रै १५ जना भन्दा बढी संख्यामा उपस्थिति हुन नपाउने डीसीसीएमसीको निर्णय रहेको छ । त्यसको लागि पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यावस्था गरेको छ । तर, पकाहामैनपुर गाउँपालिकाकाले गरेको गाउँ सभाको भने प्रमुख जिल्ला अधिकारीलाई नै जानकारी छैन । यसअघिको गाउँसभाको बारेमा पनि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र पर्साका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी नपाएको बताए् ।
गाउँपालिकाले फेरी दोश्रो पटक सातौ गाउँसभाको आयोजना गरेको छ । यो पटक पनि जानकारी नभएको बताए । उनले निषेधाज्ञालाई खुकुलो बनाएर १२ बजेसम्म पसलहरु मात्रै खोल्न दिने र मोटरसाईकललाई पनि आवश्यक काममा जानेलाई नरोक्ने भनेर सहजीकरण गरेको तर, भेला, सभा, सम्मेलनको लागि भने कुनै छुट नगरेको बताए ।
उनले गाउँसभाको विषयमा आफुले बुझेर बताउने प्रतिक्रिया दिए । लामो समयसम्म निषेधज्ञा गर्दा गरिब विपन्नहरुलाई भने छाक टार्न समेत समस्या भईरहेको अवस्थामा नीति निर्माण तहमा बस्ने र कानून कार्यान्वयन गराउने तहमा बसेकाहरुले नै निषेधाज्ञको उल्लंघन गरेपछि नेपालको कानून सानालाई ऐन ठूलालाई चैन भने जस्तै भएको छ ।


