जिराभवानी । पर्साको पर्साराष्ट्रिय निकुञ्ज र सामुदायिक बनसँग सीमा जोडिएका भलुवाई खोला र अरु विभिन्न खोलाहरूबाट मनोमानी ढङ्गले गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गरेर क्षमताभन्दा बढी ट्याक्टरमा लोड गरी ओसारपसार हुँदा ग्रामीण सडकहरू खाल्डाखुल्डीमा परिणत भएको छ ।

बिश्व कोरोना महामारीको बेलामा रहेकोले भलुवाई खोलामा स्वास्थ मापदण्ड बिपरित हजारौंको संख्यामा दिन्हु जसो ट्रेक्टर र मानिसहरूको भिडभाड हुने गरेको स्थानीयहरुले गुनासो गरे । तर पर्साको जिराभवानी गाउँपालीकामा पर्ने भलुवाई खोलामा दुई महिनाको लागि २९लाख ५५ हजारमा ॐ साई निर्माण सेवा बहुवरी पिडाडीले ठेक्का साकार गरेको गाउँपालीका स्रोतले बताएको छ । ठेकेदारले भलुवाई खोलाबाट जथाभावी मापदण्ड बिपरित गिट्टी, बालुवा, ढुङ्गा उठाउँदा खोला पोखरीजस्तो भएको छ ।
बढी गहिराइमा ढुङ्गा, बालुवा, गिट्टी पुल गाउँबस्ती स्कुल मठमन्दिरको ३०० मिटर वरिपरि उत्खनन गर्ने प्रावधान नभए पनि ठेकेदारले दुईपट्टी गाउँबस्ती रहेकोले वरिपरि उत्खनन गरेको जिल्ला वन कार्यालय, पर्साको संरक्षण तथा सदुपयोग शाखाका प्रमुख बशिष्टनारायण पटेलले बताए । ठेकेदारले खोलामा होर्डिङ्गबोर्ड लगाउनुपर्ने, पूर्जी काटने कर्मचारीलाई पोशाक, परिचयपत्र, ओभरलोड नगर्ने, प्रतिघनफिट नापेर पूर्जी काट्नुपर्ने प्रवधावन भए पनि ठेकेदारले मनपरी कार्य गर्दै आएका छन् ।
टेलरमा जति लोड गरे पनि १ सय ३० घनफिटको रु ५०० काटने गरेका छन् । कुनै टेलरमा १००, १२०, १३५, १४० सम्म अटने हुँदा ठेकेदारले बिना नाप अन्दाजी पुर्जी काटने गरेकोले ओभरलोडको कारण सडक खाल्डाखुल्डीमा परिणत भएको छ । यसबाट यातायातमा समस्या र दुर्घटनाका सम्भावना रहेको स्थानीयवासीले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति, पर्साले अनुगमन नगर्दा ठेकेदारले जथाभावी कार्य गर्दा प्रकृतिक सम्पदा खतरामा परेको छ । यस विषयमा प्रहरी, प्रशासन, वन, जिल्ला समन्वय समितिको ध्यानाकर्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।


