वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) को अभ्यास (टेस्ट) परिक्षा स्थगित गरेको छ । जिल्लामा बढ्दो कोरोनाभाइरस सङ्क्रमणको दरलाई ध्यानमा राखेर बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन एसईई टेस्ट परिक्षा स्थगित गरिएको प्याब्सन पर्साले जनाएको छ ।

प्याब्सन वीरगंज अध्यायका अध्यक्ष आलोककुमार चौरसियाले अर्को सूचना जारी नभएसम्मका लागि लिन बाकी रहेका विषयहरुको परिक्षा स्थगित गरिएको जानकारी दिए । प्याब्सन आबद्ध विद्यालयहरुको आकस्मिक बैठकले बाकी रहेका विषयहरुको परिक्षा अर्को सूचना जारी नभएसम्मका लागी एसईई टेस्ट परिक्षा स्थगित गरेको चौरसियाले बताए । चौरसियाले सबै अभिभावकलाई बालबालिकालाई कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सुरक्षित तरिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै घर भित्र राख्न आग्रहसमेत गरेका छन् ।
पर्सामा चैतको अन्तिम सातादेखि कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि अभिभावकले विद्यालय बन्द गर्नदेखि परिक्षासमेत स्थगित गर्न माग गर्दै आएका थिए । सोही माग अनुसार परिक्षा स्थगित गरिएको चौरसियाले बताए । पर्साको वीरगंज महानगरपालिकाले यसअघिनै कक्षा ९ सम्मको सबै परिक्षा स्थगित गरेको छ ।
महानगरपालिकाको शैक्षिक विकास महाशाखाले आइतबार एउटा सूचना जारी गर्दै नगरका सम्पूर्ण सामुदायिक र संस्थागत (निजि) विद्यालयहरुलाई कक्षा ९ सम्मको परिक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्न निर्देशन दिएको थियो । महानगरपालिकाले सञ्चालन गर्ने कक्षा ८ को परिक्षा पनि स्थगित गर्न निर्णय भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहहरुले भने परिक्षाको सम्बन्धमा कुनै निर्णय गर्न सकेका छैनन् ।


