वीरगंज । पर्सामा आइतबार पुनः ८६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणको क्रममा पर्सामा मात्रै ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालमा १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा पर्साका ८६ जना, बाराका १० जना, रौतहटका २ जना एवं सर्लाहीका १ जना रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा ६५ जना पुरुष रहेका छन् भने ३४ जना महिला रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । उनका अनुसार संक्रमितहरुको उमेर समूह १० देखि ७२ वर्षसम्म रहेको छ भने उनीहरुको सिटि भ्यालु १४.१ देखि ३४.२ रहेको छ । पर्सामा आइतबारसम्म कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २७ जना पुगेको छ ।
जसमा २ हजार ९ सय ५८ जना पुरुष तथा ९ सय ६९ जना महिला रहेको छ । यसैगरि ३ हजार १ सय ९९ जना निको भएर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भइसकेको छ जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले जानकारी दिए ।
उनका अनुसार ७ सय १२ जना कोरोना संक्रमितहरु होम आइसुलेशनमा छन्, जसमा ४ सय ७१ जना पुरुष तथा २ सय ४१ जना महिला रहेका छन् । यसैगरि नारायणी अस्पतालको आइसुलेशनमा ४२ जना भर्ना रहेका छन् भने ७ जना आईसियूमा भर्ना रहेका छन् । त्यसैगरि शनिबार २ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
नारायणी अस्प्तालमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै मंगलबारदेखि सुरक्षित इमरजेन्सी वार्ड संचालन हुने भएको छ, जसमा अन्य रोगको विरामीहरुलाई उपचार गरिनेछ भने पुरानो इमर्जेन्सी वार्डमा कोरोना संक्रमितहरुको उपचार गरिने प्रवक्ता डा। दासले जानकारी दिए ।


