वीरगंज । बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह ऐरको मृत्यु भएको हो ।

अचानक बेहोस भएका उनको दुःखद मृत्यु भएको सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले जानकारी दिए । दार्चुला घर भएका उनको शव गाउँमै पठाउने तयारी भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएका थिए । बेहोस भएपछि उपचारका लागि कलैया स्थित कलैया अस्पतालमा लगिएको थियो । कलैया अस्पतालले उपचार हुन नसक्ने बताएर नारायणी अस्पताल रिफर गरेको थियो । नारायणी अस्पतालमा आईपुग्दा मृत्यु भईसकेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।
नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नै आईपुगेको जानकारी दिए ।
‘एक्कासी लड्नुभयो भनेर ल्याईएको थियो, तर अस्पतालमा आईपुग्दा नै मृत्यु भईसकेको थियो ।’ उनले भने ‘ सडेन डेथ हुनुको पछाडि मुटु सम्बन्धि कुनै समस्या हुनसक्छ ।’


